मुख्य समाचार
बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु
बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु

— बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु भएको छ । बाँकी ५.५ किमि खण्डमा ठेक्का सम्झौता हुने चरणमा छ । सडकको ठेक्का भएर काम सुरु भइसक्दा पनि पुल निर्मणको ठेक्का भने अझै हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । सडकको ठेक्का भएर काम सुरु भइसक्दा बल्ल पुल निर्माणका लागि ठेक्काको सुरसार थालिएको हो ।


यस राजमार्गमा अघिपछि सधैं ट्राफिक जाम हुने भनेकै पुलमा पुगेपछि हो । सिंगल लेनका पुलका कारण यस राजमार्गमा सधैं ट्राफिक जाम हुने गरेको छ । अब दुई लेन सडकसँगै पुल पनि दुई लेनकै बनाउने गरी अध्ययन सुरु गर्न लागिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार उक्त राजमार्गको केही खण्डमा चार वटा पुल निर्माणका लागि अध्ययन गरिँदै छ । केहीमा ठेक्का भएर काम भए पनि केहीमा निर्माण प्रगति सन्तोषजनक छैन ।

‘अहिले राजमार्गमा रहेका पुल साँघुरा र सिंगल लेनका छन्,’ उनले भने, ‘दुई लेनका पुल निर्माणका लागि अध्ययन थाल्दै छौं ।’ अध्ययन गरिसकेपछि कस्तो पुल बन्ने टुंगो लाग्ने न्यौपानेले सुनाए । ‘अहिले पुल त छन्, तर दुई लेनका नभएर समस्या भएको छ,’ उनले भने, ‘दाप्चा खोलाको भकुन्डेबेसी, दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ पुल बनाउन लागिएको हो ।’

राजमार्गको माम्ती र कालढुंगामा भने पुलको ठेक्का भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘गत असोजको बर्खामा माम्ती पुलबाटै सवारीसाधन चलाइयो, यसको फिनिसिङको काम मात्र बाँकी छ,’ योगेशले भने, ‘कालढुंगामा ठेक्का भए पनि काम हुन सकेको छैन, पहिला गरिएको डिजाइनमा पुनर्विचारको काम भइरहेको छ, यसको रिपोर्ट आउन बाँकी छ ।’ यही राजमार्गमा पर्ने बर्खे खोलामा पुलको ठेक्का भए पनि निर्माणमा प्रगति छैन ।

अहिले ठेक्का भएको सडकमा स्थायी निर्माणको काम सुरु भइसकेको छ । ‘एकैपटक पुल र सडक निर्माणको ठेक्का गर्न मिल्ने हो, पुल छँदै छ भनेर पहिला सडक बनाउने कुरालाई प्राथमिकता दिएका हौं,’ योगेशले भने, ‘फेरि बजेटअनुसार सडक मात्र बनाउन सक्ने अवस्था थियो, त्यहीअनुसार पहिला सडकको मात्र ठेक्का गरिएको हो ।’

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गर्ने खण्डबाहेकको सडक खण्डमा ठेक्का लागिसकेको छ । अहिलेसम्म अस्थायी मर्मतका भरमा राजमार्ग सञ्चालन हुँदै आएको थियो । यस वर्ष १८, १९ र २० असोजमा आएको बाढीले अस्थायी मर्मतका भरमा चलाइएको राजमार्ग फेरि बगाइदिएर समस्या थपिदिएको छ । अहिले खोलो तर्काएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ । गत वर्षको असोजमा आएको बाढीले राजमार्गको १२ किमि सडकखण्ड बगाउँदा चाडबाडका मुखमा यात्रुले विकल्प खोज्नुपरेको थियो । अर्को वर्षको बाढीमा भने समस्या नहुने सडक विभागको दाबी छ ।



‘जाइकाले गर्ने खण्डको समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भइसकेको छ, डिजाइन फाइनल भई ठेक्का सम्झौता हुने चरणमा छ,’ प्रमुख न्यौपानेले भने, ‘डिजाइन सडक विभागमा पठाइसकिएको र स्वीकृतिको प्रक्रियामा छ ।’ जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्ड निर्माण हुन लागेको हो ।

‘जापानले बनाउने खण्डको डिजाइनमा रेनफोर्स्ड अर्थ वाल (आरिवाल) बनाउने प्रस्ताव गरेका छन्,’ उनले भने, ‘उक्त वाल बनाउने कि नबनाउने भन्नेबारे टुंगिसकेको छैन, डिजाइन स्वीकृत भएपछि थाहा हुन्छ ।’ राजमार्गअन्तर्गत भकुन्डेबेसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेसीदेखि चारसयबेसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् ।

चारसयबेंसीदेखि डालाबेसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता मितिले दुई वर्षभित्र काम सक्नुपर्ने सडक विभागले जनायो ।

पिप्लेदेखि डालाबेसीसम्मको २.३ किमि खण्डको ठेक्का आह्वान भई आर्थिक मूल्यांकनका क्रममा छ । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरिढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बिहीबारको बैठकमा राखेका हुन् । थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका ...
: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै उनले पेसागत अनुशासनभित्र रहेर पारदर्शी रूपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताएका हुन्। कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा ...
: मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा ६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको हो। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...
— बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् । अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ ...
: कांग्रेस महामन्त्री गगन थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन हुने घोषणा गरेका छन्। चुनावअघि कि पछि पार्टीको महाधिवेशन गर्ने भन्नेबारे सहमति नजुटेपछि थापाले केन्द्रीय समितिको बिहीबारको बैठकमा विशेष महाधिवेशन हुने बताएका हुन्। उनले नियमित महाधिवेशन गरौंभन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने बताए। ‘पार्टीको यो केन्द्रीय समिति परिचालित भएर ...