मुख्य समाचार
कांग्रेस महामन्त्री गगन थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन हुने घोषणा
कांग्रेस महामन्त्री गगन थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन हुने घोषणा

: कांग्रेस महामन्त्री गगन थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन हुने घोषणा गरेका छन्। चुनावअघि कि पछि पार्टीको महाधिवेशन गर्ने भन्नेबारे सहमति नजुटेपछि थापाले केन्द्रीय समितिको बिहीबारको बैठकमा विशेष महाधिवेशन हुने बताएका हुन्।




उनले नियमित महाधिवेशन गरौंभन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने बताए। ‘पार्टीको यो केन्द्रीय समिति परिचालित भएर चुनावमा गएर हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘चुनावमा त्यसरी गएर अर्थ पनि हुँदैन, अधिवेशन गरेको कांग्रेसले देश सम्हाल्छ। अधिवेशन हाम्रो आन्तरिक होइन राष्ट्रिय कुरा हो। कतिपय साथीहरूले सभापति शेरबहादुर देउवा आउनुस् यसलाई जोगाउनुस् भन्दै हुनुहुन्छ, जसले अहिले सभापतिलाई तान्दै हुनुहुन्छ, त्यो सभापतिको सबैभन्दा अहित चाहने मान्छे हो।’


सभापतिले समयभित्रै अधिवेशन गर भनेर गएको भन्दै अनावश्यक रूपमा जोड्न नहुने थापाले बताए। ‘सभापतिले छोडिसक्नुभयो, अब हामीले सम्हाल्ने हो,’ महामन्त्री थापाले भने, ‘सभापतिले छाडेको ठाउँमा विशेष महाधिवेशनबाट सभापति ल्याएर सम्हाल्ने हो।’ नियमित महाधिवेशन गरौं भनेको कोही मान्नुभएन, त्यसो भए विशेष महाधिवेशन गरेर त्यसबाट सभापति ल्याउनुप‍¥यो। त्यसले संक्रमणकाल चलाउँछ अनि नियमित महाधिवेशन गराउँछ। सभापतिले सजिलो बनाइदिएको ठाउँमा मेरो आदरणीय दाइहरूले असजिलो नबनाइदिनुहोला।’



कांग्रेसका १४ औं महाधिवेशनका ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४ सय ८८ जनाले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए। थापाले नागरिकमा रहेको असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नुपर्ने बताए। ‘अहिलेको असन्तुष्टिहरूलाई सम्बोधन गर्दै, त्यसलाई सम्हाल्दै, यो संविधानलाई पनि जोगाउँदै र प्रणालीलाई पनि जोगाउँदै अगाडि लिएर जानुपर्छ। यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ, थापाले भने।’ कांग्रेस बाहेक यो काम अरूले गर्न नसक्ने भन्दै उनले भने, ‘यो काम अरू कसैले गर्न सक्दैन। नेकपा एमालेले सक्दैन। एमालेको क्यारेक्टर नै होइन यो। एमालेले उत्तेजना फैलाउन सक्ला।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने प्रस्ताव पेस गरेका छन्। शर्माले केन्द्रीय कार्यसमिति बैठकमा ४८ बुँदा पेस गर्दै जेनजी आन्दोलन, समसामयिक राजनीति, फागुन २१ को चुनाव, पार्टी महाधिवेशनलगायत विषयमा केन्द्रित रहेर धारणा राखेका हुन्। बैठकमा उनले विधानको धारा १७ को उपधारा २ अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी रहेकाले त्यो अवधिभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने दाबी गरे।

शर्माले भने, ‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा ? अहिलेको मूल प्रश्न यो होइन। नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन तर विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) को स्पस्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न भएको भन्दै शर्माले भने, ‘विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनकै आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्छ यसमा हामी द्विविधामा पर्नुहुन्न।’ महामन्त्री शर्माले अर्का महामन्त्री थापाको प्रस्तावअनुसार पुस १६ मा महाधिवेशन भ्याइँदैन÷सकिँदैन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर बमोजिम १७ (२) बमोजिम मंसिरभित्रै विशेष महाधिवेशन गर्न सकिने बताए। उनले भने, ‘गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै साथीहरू हुनुहुन्छ। हामीभन्दा मेहनत गर्ने साथीहरू हुनुहुन्छ, अनादर नगरौं। तेस्रो विकल्प, त्यसरी गर्दा उपयुक्त हुन्न भन्ने हो भने त्यही दफाले फेरि केन्द्रीय समितिले बोलाउन सक्छ ।’ शर्माले कांग्रेस देशको समयअनुकूल आफूलाई बदलिएर अघि बढ्नुपर्ने बताए।

उपसभापति धनराज गुरुङले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताए। उनले पुस मसान्तभित्र नसकिए माघको पहिलो साता नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन्। गुरुङले भने, ‘सबैलाई जोडेर नियमित महाधिवेशन पुस मसान्त नभए मागको पहिलो हप्तासम्म गरौं।’

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले विशेष महाधिवेशन गर्ने हो भने केन्द्रीय समितिबाटै निर्णय गर्नुपर्ने बताए। आङ्देम्बेले संस्थापन चौघेरा देखेर त्यसमा असन्तुष्टि जनाएकाहरूले एउटा निकास खोज्नका लागि विशेष महाधिवेशन हस्ताक्षर अभियान सञ्चालन गरेको बताए। ‘हरेक कुरा केन्द्रीय समितिबाट टुंगो लागोस,’ उनले भने, ‘विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस। अझै म विशेष महाधिवेशन हुँदै नहोस् भन्ने चाहना राख्ने मानिस हो। हस्ताक्षर अभियान रूजुसम्म पुग्दा हाम्रो चरित्र त्यही हो, पार्टी फुटमा जान सक्छ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक बीचमा केही दिन रोकिँदै पुन बस्दै आएको थियो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समिति बैठक कात्तिक २९ गते दिउँसो २ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बिहीबारको बैठकमा राखेका हुन् । थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका ...
: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै उनले पेसागत अनुशासनभित्र रहेर पारदर्शी रूपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताएका हुन्। कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा ...
— बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु भएको छ । बाँकी ५.५ किमि खण्डमा ठेक्का सम्झौता हुने चरणमा छ । सडकको ठेक्का भएर काम सुरु भइसक्दा पनि पुल निर्मणको ठेक्का भने अझै हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । सडकको ठेक्का भएर काम सुरु भइसक्दा ...
: मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा ६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको हो। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...
— बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् । अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ ...