: नवलपरासीको गुठिप्रसानीस्थित बसैया नाका क्षेत्रमा २ राउण्ड हवाई फायर भएको छ। गएराति १२ बजे बसैयाको दसगजानजिक भठ्ठा (पिलर नम्बर ५०२/७ ) क्षेत्रबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि हवाई फायर भएको सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए।
सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५/६ वटा मोटरसाइकलमा उनीहरूले बोरामा राखेर सुकेका माछा (सिद्रा) ल्याउँदै गरेका थिए। चेकजाँच गर्ने क्रममा सामान ल्याउने व्यक्तिहरूले हल्ला गरेपछि भारतीय क्षेत्रबाट थप २५/३० जना व्यक्ति आएर ड्युटीमा खटिएका प्रहरीमाथि हहुलहुज्जत गरी आक्रमण थालेपछि सुरक्षाका लागि २ राउण्ड हवाई फायर गरेको एसपी रायमाझीले बताए। हवाई फायरपछि उनीहरू भारततर्फ भागेका थिए।
मोटरसाइकलबाट भाग्नेक्रममा खसेका २ बोरा सिद्रा माछासमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। भारतको बिहार राज्यमा चुनाव रहेकाले सीमा नाकामा केही दिनदेखि भारतीय प्रहरीको उपस्थिति कम छ। नाका खुला जस्तै देखेपछि अहिले भारतबाट नेपालतर्फ माछालगायतका सामानको तस्करी गर्ने व्यक्तिहरू सल्बलाएको स्थानीयले बताएका छन्।