: सुनसरी र झापाका विभिन्न स्थानबाट लागूऔषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ भने झापा र सुनसरीकै अन्य स्थानबाट अन्य चार जना निषेधित औषधीसहित पक्राउ परेका छन्।
सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारे केशलिया पुल नजिकब्सट बुधबार राति ११ बजे विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय दुहवीको टोलीले मोरङबाट सुनसरीतर्फ पैदल आउँदै गरेका बर्जु–३ बस्ने २२ वर्षीय मुकेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देख्नेबित्तिकै उनले दुईवटा कालो ब्याग फ्यालेर भाग्ने प्रयास गरेका थिए। तर, प्रहरीले लखेटी नियन्त्रणमा लिएपछि ब्याग खोलेर हेर्दा त्यसभित्र प्याक गरी राखिएको १८.५८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। उनले चौधरीलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएका छन्।
बुधबार राति नै सुनसरीकै धरान–६ बाट प्रहरी चौकी पानबारीले स्थानीय रोशन राई र अभिषेक विश्वकर्मालाई पनि प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको छ। उनीहरूको साथबाट २६१ क्याप्सुल र २८४ ट्याब्लेट ट्रामाडोल बरामद गरेको डीएसपी खतिवडाले बताए।
त्यसैगरी, झापाको मेचीनगर–६ मा पनि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई पनि प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए।
प्रहरीले बानियाँको साथबाट ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। पक्राउ परेका सबै विरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।