: बंगलादेशमा प्रतिबन्धित अवामी लिगको राजधानी ढाकाको गुलिस्तानमा रहेको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ। स्थानीय प्रहरी चौकीका ड्युटी अफिसर एसआई निशातले बीबीसी न्यूज बंगलालाई घटनाको पुष्टि गरे।
बंगलादेश अवामी लिगले सामाजिक सञ्जालमा लेखेको छ,'यो युनुस र उनका साथीले प्रवर्द्धन गरिरहेको लोकतान्त्रिक सुधार हो। यहाँ सबैभन्दा ठूलो र प्रभावशाली राजनीतिक दल अन्तरिम सरकार र यसका सहयोगीबाट निरन्तर आक्रमणमा परेको छ।'
गत वर्ष जुलाईमा भएको विद्रोहको क्रममा मानवताविरुद्धको अपराधको लागि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य तीन जनाविरुद्ध दायर गरिएको मुद्दामा नोभेम्बर १७ मा फैसला सुनाइने छ।
यो खबरपछि अवामी लिगको कार्यालयमा आगजनी गरिएको बताइएको छ। बंगलादेश इस्लामी छात्र शिबिर र राष्ट्रिय नागरिक पार्टीका प्रदर्शनकारीले अवामी लिग कार्यालय बाहिर प्रदर्शन गरिरहेका देखिएका थिए। प्रदर्शनकारीले भवन भित्रका फर्निचर जम्मा गरेर आगो लगाए। उनीहरूले कार्यालय बाहिर रहेका मूर्ति पनि तोडफोड गरे।