— डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार भएको छ । यसक्रममा ४२ जनाको मृत्यु भएको अनुमान लगाइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ ।
बाँचेका मानिसहरुले आईओएमलाई बताएअनुसार ४७ पुरुष र दुई महिला सवार डुंगा ३ नोभेम्बरमा पल्टिएको थियो । लिबियाको तटीय शहर जुवाराबाट हिंडेको ६ घण्टापछि यो जहाज पल्टिएको उनीहरुले बताएका छन् ।
भूमध्यसागरको मुख्य रुट हुँदै युरोप छिर्न चाहनेमध्ये यस वर्ष १ हजारभन्दा धेरैको मृत्यु भइसकेको आईओएमले जनाएको छ ।
बाँचेका सातजना सुडान, नाइजेरिया, क्यामरुन र सोमलियाका नागरिक रहेको आईओएमले जनाएको छ । शनिबार लिबियाली अधिकारीहरुले अल बुरी तेल फिल्डनजिक उनीहरुलाई फेला पारेका थिए ।
‘दुग्भार्यपूर्ण रुपमा हराएका ४२ जना मरेको अनुमान लगाएका छौं । यसमध्ये २९ जना सुडान , आठ सोमालिया , ३ क्यामरुन र दुई नाइजेरियाका छन्,’ आईओएमले भनेको छ ।
भूमध्यसागर नाघेर अवैध बाटो हुँदै युरोप छिर्न चाहने आप्रवासीका लागि लिबिया प्रमुख प्रस्थान बिन्दू बन्दै आएको छ । हरेक वर्ष ठूलो संख्यामा मानिसहरु यस रुटमा मर्छन् ।