: नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले केपी शर्मा ओलीको कुरामा नफस्न एमाले नेताहरूलाई आग्रह गरेका छन्। राष्ट्रिय सभा गृहमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता रावलले एमालेमा अध्यक्ष ओलले दोहोरो चरित्र देखाउने गरेको आरोप लगाए।
उनले एकातिर आफ्नै नेताहरूलाई पार्टी छाड्न दबाब दिने र अर्कोतर्फ घर फर्किने आह्वान गर्ने गरेको आरोप लगाए। अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई पार्टीबाट निस्केर जान दबाब दिएको रावलको दाबी छ।
उनले ओलीले कम्युनिस्ट आन्दोलनलाई बर्बादीतिर लगेको आरोपसमेत गलाए। 'केपी ओलीले दुई तिहाईको सरकारलाई विभाजन गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो। जम्बो जेट चलाउने वाचा गर्नुभएको उहाँले कम्युनिस्ट आन्दोलनलाई धोका र गद्दारीमात्र गर्नुभयो। नेकपा विभाजन गर्न विदेशीसँग मिलेर उहाँले सकुनीको भूमिका निर्वाह गर्नुभयो। विभिन्न बहाना बनाएर मलाई समेत धोका दिनुभयो,' नेता रावलले भने।
उनले केपी ओलीले लगाएका दागहरूले नेपाली कम्युनिस्ट पार्टीले पखाल्नुपर्ने बताए। उनले नेपाललाई क्षेप्यास्त्र हान्ने दिन पनि आउनसक्ने भन्दै पार्टीलाई बलियो बनाएर लैजानुपर्ने बताए।
त्यस्तै नेता रावलले जेनजी आन्दोलनमा नेपालको सुरक्षा प्रणाली उदांगो भएको आरोप लगाए। त्यसको चिन्ता अब नेपाली कम्युनिस्ट पार्टीले गर्नुपर्ने बताउँदै उनले भने, 'राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ। सीमामा सुरक्षा व्यवस्था कायम गर्नुपर्छ। भोलिका दिनमा कसैको घर जलिनु हुँदैन।'
उनले सबै सरकारले नदीनाला बेच्ने गरेको आरोप लगाउँदै आगामी दिनमा त्यस्ता सम्झौताहरू हुन नदिने प्रतिवद्धता जनाउनुपर्ने बताए। 'नेपाली कम्युनिस्ट पार्टीको झण्डामुनि बसेर दृढताका साथ कम्मर कसेर अगाडि बढ्नुपर्छ। देशको स्वाधीनतालाई बलियो बनाउन यो पार्टीलाई अगाडि बढाउनुपर्छ। म पनि आत्मलोचना गर्न तयार छु। विगत जस्तो भए पनि। हाम्रा पाइला जस्तोसुकै डोबमा राखिए पनि कम्युनिस्ट आन्दोलनका निम्ती हामी तयार हुनुपर्छ,' उनले भने। उनले आफूले पनि विगत फर्केर हेर्न तयार रहेको बताउँदै पार्टीले कृषि क्रान्तिका लागि तयार हुनुपर्ने बताएका थिए।