: नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने बताएका छन्। केन्द्रीय समितिको बैठकमा उनले पुस मसान्तसम्मको कार्यतालिका ल्याएर नियमित महाधिवेशन सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन्।
‘हामी अहिले निर्वाचनको प्रक्रियामा छौं। पार्टी भित्र महाधिवेशन कहिले गर्ने भन्ने बहस चलिरहेको छ। मेरो विचारमा, यदि महाधिवेशन निर्वाचनपछि गरियो भने, धेरै कार्यकर्ता र मतदाता सहभागी हुन नसक्ने अवस्था आउन सक्छ। यसले हाम्रो संगठनिक सशक्तता र राजनीतिक प्रभावमा असर पुर्याउन सक्छ। ’ उनले भने, ‘त्यसैले, २०८२ पुस मसान्तसम्मको कार्यतालिका ल्याई नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढ्नु अत्यावश्यक छ। यसरी महाधिवेशन सम्पन्न गर्न सके हामी आगामी निर्वाचनमा सबैभन्दा ठुलो र प्रभावशाली पार्टी बन्न सक्नेछौं। नियमित महाधिवेशनको कार्यतालिकाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाउनु भएको नियमित/विशेष महाधिवेशनको पनि सम्बोधन हुन्छ।’
उनले महाधिवेशन प्रतिनिधिहरूले गर्नु भएको हस्ताक्षरका बारेमा विविध टिका टिप्पणी हुन थालेको बताए। उनले भने, ‘पार्टीको विधानको धारा १७(२) बमोजिमको धाराले कुन मितिसम्म विशेष महाधिवेशनको प्रस्ताव गर्न मिल्ने हो भनेर स्पष्ट लेखिनुपर्दथ्यो। कति पटक प्रस्ताव राख्न मिल्ने हो ? कति समय कार्यकाल बाँकी रहँदा प्रस्ताव राख्न मिल्ने हो ? त्यो स्पष्ट छैन तसर्थ उक्त प्रस्ताव विधानसम्मत छ। विधिसम्मत छ। तीन महिना भित्र विशेष महाधिवेशन गर्न अनिवार्य छ।’
परियारले वर्तमान सरकारको गठन र संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको विगतको बैठकमा नै गरेको स्मरण गराए। उनले भने, ‘यतिबेला सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन समयमानै होस् भन्ने हाम्रो धारणा हो। तर सरकारले जेनजी आन्दोलनमा लुटिएका हतियार, गोली, भागेका कैदीलाई फिर्ता गर्न सकेको छैन।’ उनले भने, ‘सुरक्षा निकायका आगजनी र तोडफोड भएका संरचना बनेका छैनन। प्रहरी, सेना, कर्मचारी, न्यायाधीशको मनोबल बढाउने काम गर्न सकेको छैन साथै आम जनतामा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुन्छ भन्ने वातावरण हालसम्म बनेको छैन। तसर्थ सरकारलाई निर्वाचनको वातावरण सृजना गर्न आग्रह गर्नुपर्दछ।’