— तीनपाटन गाउँपालिका-२ पैरेकी एक महिलालाई हत्या गरेको अभियोगमा सिन्धुली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। १० दिनअघि घरबाट घाँस काट्न भनेर हिँडेकी स्थानीय ४० वर्षीय छत्रकुमारी कार्की (थापा) हराएकी थिइन्। उनी चार दिनपछि वडा नं १ को सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटना विवरणअनुसार हराएको भोलिपल्ट इलाका प्रहरी कार्यालय बेलघारीमा निवेदन परेको थियो। खोजतलासको क्रममा चार दिनपछि मृत अवस्थामा फेला परेकी उनीमाथि पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर हत्या भएको पाइएको थियो। स्थानीयको भनाइलाई समेत मध्यनजर गर्दै प्रहरीले सन्दिग्धको खोजतलास सुरु गरेको थियो।
२१ गतेबाटै शङ्कास्पद चार–पाँच जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट प्राप्त सूचनाका आधारमा सिन्धुलीको दुधौली नगरपालिका-१३ का ३१ वर्षीय सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरेर सिन्धुली ल्याइ अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
सूर्यबहादुरले घटना घटाएको स्वीकार गरेपछि थप दुई जनाको संलग्नता पुष्टि भएको र निजकै भान्जा दुधौली घर भएका टंकबहादुर कामीलाई पनि नियन्त्रणमा लिइएको छ। थप एक जना भने फरार रहेको र खोजतलास भइरहेको एसपी सुवेदीले जनाए।
मृतकको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट बरामद गरिएको छ। प्रारम्भिक बयान अनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ। लामो समयदेखि अवैध सम्बन्ध रहेको र बाहिरिने डरले हत्या गरिएको प्रारम्भिक निष्कर्षमा उल्लेख छ। थप अनुसन्धान भइरहेको पनि एसपी सुवेदीले बताए।
मृतक कार्कीका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा रहेर काम गर्दै आएका छन्।