— भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरूविरुद्ध आपराधिक उपद्र तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । त्यसैगरी त्यही दिनको आन्दोलनकै क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बरथवा नगरपालिका–१ की २७ वर्षीया पुनम ठाकुर, त्यही ठाउँका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) रहेका छन्। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।