— कांग्रेस नेता रमेश लेखकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै उनले नियमित महाधिवेशनकै लागि तीनवटा विकल्प प्रस्तुत गरेका छन् ।
‘विशेष भन्नेबित्तिकै बेमेलको अधिवेशन हुन्छ । विशेष महाविधेशन गर्नुपर्ने पक्ष र नगर्ने पक्षबीच बेमेल हुन्छ । विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय अन्योल छ,’ लेखकले भने,‘विशेष महाधिवेशनमा जाने भनेको कांग्रेस यस्तो जंगलभित्र प्रवेश गर्नु हो, त्यहाँबाट निस्कने एउटै बाटो हुन्न । सबले आ-आफ्नो बाटो देखाउँछन् । त्यो भनेको पार्टी विभाजन हुन्छ ।’
नेता लेखकले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन पुसभित्रै नियमित महाधिवेशनको विकल्पसमेत अघि सारेका छन् । लेखकले यसअघि पनि संस्थापन पक्षभित्र पुसको पहिलो साताभित्र नियमित महाधिवेशन गर्ने तालिका ल्याउँदा संस्थापनपक्षभित्रकै सात पूर्व पदाधिकारीले नमानेका कारण रोकिएको थियो ।
लेखकले महाधिवेशनको कार्यतालिका तोकेर क्रियाशीलको काममा लाग्न पहिलो प्रस्ताव गरेका छन् । तर, महाधिवेशनको मितिमा सहमति नहुने हो भने मंसिरभित्रै क्रियाशील सदस्यताको काम सक्काउने गरी पुसको २ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गर्न सकिने अर्को विकल्प अघि सारेका छन् । यदि, मंसिरभित्र क्रियाशील सदस्यताको काम सकिएमा पुस २ गतेको बैठकले सदस्यताको नामावली अनुमोदन गरेर त्यतिबेलै वडादेखि केन्द्रसम्मको महाधिवेशन तालिका ल्याउने । तर, क्रियाशील सदस्यताको काम नै सकिएन भने चुनावपछाडि महाधिवेशन गर्नेगरी निर्णय लिने उनको दोस्रो प्रस्तावमा उल्लेख छ ।
लेखकले यी दुवै विकल्पमा सहमतिमा नआउने हो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव ल्याउने अधिकार दिइनुपर्ने तेस्रो विकल्प छ । ‘कार्यवाहक सभापतिज्यूले आवश्यकताअनुसार पदाधिकारी र सदस्यहरूसँग सल्लाह गरेर जे प्रस्ताव ल्याउनुहुन्छ, त्यसलाई सबैले समर्थन गरेर जाउ भन्ने मेरो तेस्रो प्रस्ताव हो,’ लखेकले भने ।
बुधबारकै बैठकमा तत्कालीन संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले ४५ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डा बैठकमा प्रवेश गराएका थिए ।
‘निर्वाचनमा जानेबारेलाई प्राथमिकतामा राख्यौँ तर संसद् पुन:स्थापनाको ढोका पनि बन्द नगरौँ । संसद् पुन:स्थापनाको विकल्पले निर्वाचन गर्ने विषयलाई पनि दबाब दिन्छ । हामीले निर्वाचन मात्रै भन्यौँ भने निर्वाचन अनिश्चित हुनसक्छ,’ लेखकको भनाइ थियो,‘सरकारले निर्वाचनको तयारी गरेको छैन । कैदीबन्दी बाहिर छन । हजारौँ हतियार बाहिर छन् । सार्प सुटर बाहिर निस्केका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचनको ग्यारेन्टी छैन । त्यसैले संसद पुन:स्थापनाको विकल्पलाई पनि कांग्रेसले छोड्न हुन्न ।’
उनले दुई महिना अघि सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूलाई स्थानहदको निर्णय लिएको तर अहिलेसम्म जानकारी नदिएको बताए ।
‘स्थानहद तोकेको र राहादानी रोक्का गरेको दुई महिना पुग्यो । यो भनेको एकप्रकारको जेलमा राखेको जस्तै व्यवहार हो । तत्कालीन प्रधानमन्त्रीलाई के गरेको छ थाहा छैन तर मलाई आजसम्म सरकारले कुनै जानकारी दिएको छैन,’ उनले भने । ६ पदाधिकारीले बोल्न बाँकी नै रहेकाले कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार पनि चल्नेछ ।