— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।
गोर्खाजले जाम्बोरीसँग ‘नलेज’ पार्टनरको रुपमा सम्झौता गरेको हो ।
जाम्बोरीले एक दशकभन्दा बढी समयदेखि विद्यार्थीलाई स्याट, टोफेल, आईएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तर्राष्ट्रिय परीक्षाको तयारी गराएर अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्ययनका लागि उपयुक्त विश्वविद्यालय छनोट र आवेदन प्रक्रियामा मार्गदर्शन गर्दै आएको छ ।
मंसिर १ देखि हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसनको लोगो लगाएर खेल्ने छ । यसपालि पहिलो दिनै गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग खेलेर एनपीएल सुरु गर्दै । मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाज तयारीमा व्यस्त छ ।
गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरीले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।
जाम्बोरीका प्रबन्ध निर्देशक पराजुलीले शिक्षा र खेल दुवै युवाको क्षमता र अनुशासन विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।
काठमाडौं गोर्खाजले यसअघि मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिंक, अफिसियल एजुकेसन पार्टनरमा आईआईएमएस कलेजसँग प्रायोजन सम्झौता गरिसकेको छ । अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।