— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका गोलीसहित दुई जना पक्राउ परेका छन् ।
लागुपदार्थ ब्युरो इकाइ काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट बुधबार गोली बरामद गरेको हो ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट एसएलआरका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गोली बरामद गरिएको छ ।
त्यसैगरी कोठाबाट काँसको थाल, करुवा, पित्तलको गिलास १/१ थान र प्रहरीको बुट एकजोरसमेत फेला परेको प्रहरीले जनाएको छ । सामान लुटपाटमा संलग्न आरोपमा झापाको बिर्तामोड–२ का २२ वर्षीय विकास टुडुलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हातहतियार लुटिएको थियो । पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।