मुख्य समाचार
प्रत्यक्ष प्रसारणको टेन्डरमा पटक-पटक मापदण्ड परिवर्तन
प्रत्यक्ष प्रसारणको टेन्डरमा पटक-पटक मापदण्ड परिवर्तन

— नेपाल क्रिकेट संघ (क्यान) ले १ मंसिरदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा टेलिभिजनमा प्रत्यक्ष प्रसारण अधिकारका विषयमा पटक–पटक मापदण्ड परिवर्तन गरेको छ । मापदण्ड परिवर्तन गर्दै बोलपत्र पेस गर्ने म्याद थप्दै लगिएकामा टेलिभिजन प्रसारकहरूले विरोध गरेका छन् ।


नेपालभित्र टेलिभिजनमा प्रत्यक्ष प्रसारण र विश्वभरि ‘ओटीटी लाइभ स्ट्रिमिङ’ अधिकारका लागि क्यानले ४ नोभेम्बरमा सामाजिक सञ्जालबाट सार्वजनिक सूचना निकालेको थियो । त्यसमा १० नोभेम्बर (सोमबार) सम्म बोलपत्र फाराम लिइसक्नुपर्ने र ११ नोभेम्बरको दिउँसो १२ बजेभित्र प्रत्यक्ष प्रसारणको अधिकारका लागि टेन्डरमा सहभागी हुनुपर्ने भनिएको थियो ।

त्यही दिन दिउँसो २ बजे प्रत्यक्ष प्रसारणका अधिकार पाउने प्रसारण प्रदायकको नाम सार्वजनिक गर्ने सूचनामा उल्लेख थियो । तर बुधबार एनपीएल सुरु हुने दुई दिनअघि मात्रै प्रत्यक्ष प्रसारणको टेन्डर छनोट गर्ने गरी अर्को समय तोकिएको छ ।

मिडिया सोसाइटीका कोषाध्यक्ष एवं टीभी टुडेका कार्यकारी अध्यक्ष जनकराज पन्तका अनुसार टेन्डर छनोट गर्ने अघिल्लो दिन साँझ मापदण्ड परिवर्तन गरी २४ घण्टाको म्याद थपिएको जानकारी क्यानले इमेलमार्फत दिएको थियो । ‘नेपालमा पछिल्ला ५ वर्षभित्र कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको प्रसारण अधिकारमा संलग्नताको प्रमाण’ चाहिने सर्तलाई परिवर्तन गरेर ‘नेपालमा पछिल्ला ५ वर्षभित्र घरेलु, क्षेत्रीय वा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सम्बन्धित प्रसारण अधिकारमा संलग्नताको प्रमाण’ भन्ने कायम गरिएको हो ।

मापदण्डमा पर्नेले बुधबार १२ बजेभित्र टेन्डर पेस गर्नुपर्ने भनिएको थियो । तर बुधबार १० बजे पुनः मापदण्ड परिवर्तन भएको जानकारी टेलिभिजन सञ्चालकहरूलाई पठाइएको छ । बुधबार १२ बजे फेरि क्यानले टेन्डर फाराम लिने कम्पनीहरूलाई इमेलमार्फत एउटा विषय स्पष्ट पार्ने भन्दै मापदण्ड परिवर्तन गरिएको जानकारी गराएको छ ।

नेपाली टेलिभिजनका लागि यसअघि सार्वजनिक गरिएको दस्तावेजको २ (ए १) बुँदामा ‘एक्स्क्लुसिभ ब्रोडकास्टिङ राइट्स– लिनियर टेलिभिजन) सम्बन्धी व्यवस्था थियो । त्यसमा प्रस्ट भनिएको छ, ‘अधिकार प्राप्त गर्ने प्रसारकले एनपीएलको सम्पूर्ण अवधिका लागि प्रत्यक्ष प्रसारण, हाइलाइट्स र क्यानले अनुमति दिएका अन्य सम्बन्धित सामग्री नेपालको सिमानाभित्र टेलिभिजनबाट प्रसारण गर्न ‘एक्स्क्लुसिभ राइट’ पाउनेछ ।’ तर प्रस्ताव खोल्नुअघि क्यानले नेपाली टेलिभिजनले त्यस्तो ‘एक्स्क्लुसिभ’ अधिकार नपाउने सर्त अघि सारेको छ ।

भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्स्‌ले प्रसारणको ‘एक्स्क्लुसिभ’ अधिकार पाइसकेको हुनाले नेपाली टेलिभिजनलाई ‘एक्सक्लुसिभ’ अधिकार दिन नमिल्ने भनी टेन्डरमा मापदण्ड परिवर्तन गरिएको छ । टेन्डर पेस गर्ने दुई घण्टाअघि मात्रै मापदण्ड हेरफेरको सूचना पठाइएकामा नेपाली टेलिभिजन सञ्चालकले विरोध गरेका छन् । त्यसपछि यसअघिको टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गरी शनिबार दिउँसो १ बजे खोल्ने गरी अर्को मिति तय भएको छ ।



प्रतिस्पर्धामा नेपाली टेलिभिजनहरू धेरै सहभागी भएर जसले प्रसारण अधिकार पाए पनि आफूहरू खुसी हुने पन्तले बताए । ‘प्रतिस्पर्धामा नेपाली च्यानलहरू धेरै सहभागी भए पनि एउटाले पाउने हो, हाम्रै उद्योगले पाउने हो, नेपाली टेलिभिजनले पाउने हो,’ उनले भने, ‘क्यानले गलत कार्य गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र अदालत जानुपर्ने भए पनि जान्छौं ।’

सार्वभौम सीमाभित्रको क्षेत्राधिकारमा त्यहीँको संस्थाहरूको पहिलो अधिकार हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले बताए । ‘एनपीएलको अधिकार भारतमा हुनेलाई भन्दा पहिले हामीलाई दिनुपर्छ,’ उनले भने, ‘बरु नेपाली प्रसारकहरूको क्षमता विकास गर्ने विषयमा सर्त राखे हुन्छ । नेपालभित्र हुने कार्यक्रम प्रसारणको अधिकार अरूलाई दिने विषय प्राथमिकताभित्र पर्नु हुँदैन ।’

सूचना निकाल्ने निकायले सार्वजनिक खरिद नियमावली मान्नुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवं प्रवक्ता रामबन्धु सुवेदी बताउँछन् । ‘सूचना निकाल्ने सार्वजनिक निकायले समय तोकेर खरिद प्रस्ताव पेस गरेका सबैलाई जानकारी हुने गरी खुला रूपमा म्याद थप गर्न सक्छ,’ उनले भने, ‘कारण तोकेर समय बढाउन पाइयो । तर कसैलाई निषेध वा समर्थन नगर्ने गरी काम गर्नुपर्छ ।’

कसैलाई समर्थन वा कसैलाई निषेध गरिए सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुसन्धान गर्ने सुवेदीको भनाइ छ । ‘सामान्यतया उजुरी परे प्रतिस्पर्धा सीमित गर्न खोजिएको हो वा होइन, छानबिन गर्छौं,’ उनले भने, ‘यस विषयमा उजुरी आएको छैन । पत्रपत्रिका, सामाजिक सञ्जालमा कुरा उठ्यो भने फाइल मागेर हेर्छौं, कसैले उजुरी गरे पनि हेर्छौं ।’

Criteria repeatedly changed in NPL live broadcast tender

कुनै पनि टेन्डरमा सुरुमा सबैको प्रतिस्पर्धा हुने गरी खुला गरिएको र पछि फेरि कसैलाई मिलाउन प्रावधान थपेर सूचना निकालिएको भए त्यो गलत हुने सुवेदीले बताए । ‘खरिद सिद्धान्तका आधारमा गरेको भए सकारात्मक हो तर गलत नियतले गरेको भए त्यो थाहा भइहाल्छ,’ उनले भने ।

क्यानका प्रवक्ता छुम्बी लामाले भने यसमा कुनै गलत नियत नभएको बताएका छन् । ‘क्यानले जुन हिसाबले सूचना निकालेको थियो, त्यही बेला भारतको स्टार स्पोटर््स कम्पनीसँग पनि प्रक्रिया अघि बढिरहेको थियो । पछिल्लो स्थितिमा स्टार स्पोटर््सको निश्चितताका लागि समय लागिरहेका बेला नेपाली टेलिभिजनमा एक्सक्लुसिभ प्रसारण अधिकार गर्ने कुरा सूचनामै उल्लेख रहेछ,’ उनले भने, ‘अहिले एक्स्क्लुसिभ प्रसारण अधिकारमा जाने वा नजाने भनेर व्यवस्थापन टिम, विज्ञ टिम र टेन्डरमा आउने कम्पनीहरूबीच छलफल हुँदा एक दिन म्याद थपेर नयाँ डकुमेन्ट निकालेर फाइनल गर्ने कुरा भएको छ ।’

टेन्डर पाउने कम्पनीलाई समय कम हुँदा प्राविधिक हिसाबले केही समस्या हुन सक्ने लामाले स्विकारे । ‘पछिल्लो चरणमा स्टार स्पोर्ट्स्‌सँग प्रक्रिया अगाडि बढेको थियो । त्यसका लागि सरकारका कानुनी प्रक्रियाहरू पनि क्यानको गभर्निङ काउन्सिलले अगाडि बढाइरहेको थियो । त्यसले केही समय लागेको हो,’ उनले भने, ‘क्यानले अन्यथा केही गरेको छैन, वास्तविकता जे हो, त्यसलाई अगाडि बढाएको छ ।’

क्यानले कसैलाई सुटुक्कै टिप्न लागेको भन्ने आरोप गलत रहेको पनि क्यान प्रवक्ता लामाको भनाइ छ । यस प्रक्रियामा आउन सबैलाई अवसर दिइएको छ । त्यहीअनुरूप धेरै कम्पनीले फाराम लिएका छन्,’ उनले भने, ‘क्यानले कसैलाई उपेक्षा गरेको छैन । पारदर्शी हिसाबमै सबैका अगाडि टेन्डर खोल्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...