। सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ । नेपालले बदलिँदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ एसएसपीहरूलाई सीमा नाकाहरूमा खटाइएको हो ।
सीमा नाकाहरुमा खटाइएका एसएसपीहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाइमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन बुझाउने सहप्रवक्ता समेत रहेका डीएसपी शैलेन्द्र थापाले बताए ।
त्यसमध्ये कोशीमा दिगविजय सुवेदी खटिएका छन् । उनले प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा रहेर काम गर्ने बताइएको छ ।
मधेश प्रदेशमा माधव प्रसाद पौडेललाई खटाइएको छ । उनले सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न भनिएको छ ।
लुम्बिनीमा रविनराज कर्णजितलाई खटाइएको छ । उनले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्नेछन् ।
सुदूरपश्चिम प्रदेशमा गंगाराम श्रेष्ठलाई खटाइएको छ । उनले प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्नेछन् ।
निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन अरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जिम्मेवारी तोकी खटाइने उनले बताए । साथै, सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरूले समेत प्रत्यक्ष रुपमा सम्पर्क राख्ने व्यवस्था समेत मिलाइएको डीएसपी थापाले बताए ।
उनीहरूले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने छन् ।
लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुकासाथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ ।
यस्ता कार्यहरुले भन्सार नाकाबाट वैध तरिका अवलम्वन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालय लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ