: आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा), खेलाडी संघ र क्लबहरूसँगको मन्त्रालयको बैठकमा उक्त प्रस्ताव गरिएको हो।
युवा तथा खेलकुद मन्त्रालयमा ५ वटा क्लब, खेलाडी संघ र एन्फाबीच भएको छलफलबाट डबल राउन्ड रोबिन फर्म्याटको लिगमा खेल हुने गरी प्रस्ताव गरिएको छ।
खेलाडी संघको अध्यक्ष विक्रम लामा लगायतले लिग नियमित हुनुपर्ने माग गर्दा क्लबहरुले यो सिजनका लागि होम एण्ड अवेको अवधारणा गर्न नसकिने तर डबल राउण्ड रोबिनको फर्म्याटमा लिग गर्ने प्रस्ताव अघि सारे।
एन्फाबाट अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई उपस्थित थिए। उनले क्लबहरू तयार भए आफूहरू पनि लिग गर्न तयार रहेको बताए। उनले भने, ‘क्लबहरु तयार भएमा लिग गर्न तयार छौं।’
क्लबहरुले ए डिभिजन लिग गर्न खेलाडी तयार गर्न आफूहरूलाई समय चाहिने बताएका छन्। यस विषयमा भोलि पुनः ए डिभिजन क्लबहरूसँग मन्त्री बब्लु गुप्ताले छलफलको लागि बसि ए डिभिजन लिगको मिति तय हुने आजको छलफलको निष्कर्ष रह्यो।