: सिम्रिक एयरको हेलिकप्टरले यालुङरी क्षेत्रमा हिम पहिरोमा परेका आरोहीहरूको खोज तथा शव फिर्ता अभियान सञ्चालन गरेको छ। नोभेम्बर ३ मा भएको हिमपहिरोपछि तीन विदेशी आरोही र दुई नेपाली गाइड हराएको जानकारी प्राप्त भएपछि सिम्रिक एयरले AviA MEA – अन्तर्राष्ट्रिय उद्धार टोलीसँग समन्वय गरी नोभेम्बर ६, २०२५ मा मिशन सञ्चालन गरेको हो।
झण्डै ५,५०० मिटरको उचाइमा गरिएको चुनौतीपूर्ण अभियान चरम मौसम र भौगोलिक वातावरणीय कठिनाइबीच भएको थियो। पाइलट–इन–कमाण्ड क्याप्टेन सुरेन्द्र पौडेल र उद्धार प्राविधिक छिरिङ पाण्डे भोटे तथा उत्तम चौधरी रहेको सिम्रिक एयरको हेलिकप्टरले RECCO उपकरण लगायतको खोज प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय उद्धार टोलीलाई हवाई तथा प्राविधिक सहयोग प्रदान गरेको थियो।
उक्त टोलीमा प्रसिद्ध उच्च हिमाली उद्धारक क्याप्टेन म्यानुअल मुनारी, मिशेल कुच्ची र ब्रुनो जेल्क रहेका थिए। यस अभियानमा चार जना IFMGA/NNMGA शेर्पा गाइडहरूले स्थलमै रहेर खोज तथा उद्धारमा महत्वपूर्ण भूमिका खेलेका थिए। नोभेम्बर ७ र ८ मा गरिएको हवाई खोज अभियान नोभेम्बर ८ को अपराह्न औपचारिक रूपमा सकिएको हो। यो अभियानलाई विज्ञहरूले सम्भवत: पहिलो पटक RECCO SAR उपकरण प्रयोग गरिएको उच्च हिमाली उद्धार अभियानका रूपमा वर्णन गरेका छन्।
अभियानको आधार शिविर नाउँ गाउँमा स्थापना गरिएको थियो। उक्तस्थानबाट सम्पूर्ण लजिस्टिक, प्राविधिक तयारी र इन्धन आपूर्ति सञ्चालन गरिएको थियो। टोलीले काठमाडौं, इटाली र स्विट्जरल्यान्डस्थित सहायक सदस्यहरूसँग निरन्तर समन्वय गरी हावापानी, सूचना आदान–प्रदान तथा सञ्चालन अद्यावधिक गर्दै आएको थियो।
हवाई र स्थल दुबैबाट RECCO SAR एरियल सिस्टम र RECCO R9 ग्राउन्ड सर्च सिस्टम प्रयोग गरी धेरै पटक पुन: खोज उडानहरू गरिएको थियो। शेर्पा गाइडहरूसँग घनिष्ठ सहकार्यमा टोलीले हिमपहिरोको क्षेत्र पहिचान गरी सञ्चालन क्षेत्र निर्धारण गरेको थियो। तर, अत्याधिक बाक्लो र कडा हिउँका कारण खोज तथा शव फिर्ता कार्य रोक्नुपर्ने अवस्था आएको थियो। हिमनदी मुनि रहेको गहिरो चिरा (क्राभास) का कारण थप कार्य अघि बढाउन असम्भव भएको जनाइएको छ।
यो अभियान आरोही र गाइडका परिवारप्रति सहानुभूति र सम्मानका भावनासहित गरिएको हो। सिम्रिक एयर (हवाई यातायात र खोज अभियान), हेलि एभरेस्ट (सहयोग लजिस्टिक र सामग्री ढुवानी), AviA MEA International Rescue Team र स्थानीय IFMGA/NNMGA शेर्पा गाइडहरूको संयुक्त प्रयासमा यो मिशन भएको थियो।
यस अभियानमा अर्थ सी-एयर (स्विट्जरल्यान्ड), RECCO AB (स्विडेन) र एसियन ट्रेकिङ (नेपाल) ले पनि सहयोग गरेका थिए। सिम्रिक एयरले विगत केही वर्षदेखि यस्ता उच्च हिमाली उद्धार तथा शव फिर्ता अभियानमा यी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।