मुख्य समाचार
लाइसेन्सका लागि आवेदन खुला
लाइसेन्सका लागि आवेदन खुला

— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले जनाए ।


‘नयाँ लाइसेन्स लिनेहरूका लागि आवेदन, लिखित र ट्रायल परीक्षा उपत्यकाका केही कार्यालयबाट सुरु भइसकेको छ,’ खतिवडाले भने, ‘यसअघि अवधि सकिएका नयाँ र पुराना लाइसेन्स सबैको नवीकरण सेवा यसअघि नै सुरु भइसकेको छ ।’ उनका अनुसार मंगलबारबाट उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयबाट पनि यो सबै सेवा सुरु गरिँदै छ । ‘देशभर रहेका ४२ मध्ये ३८ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्ससम्बन्धी सेवा सुरु भइसकेको छ,’ खतिवडाले भने, ‘नयाँ लाइसेन्सका लागि उपत्यकाबाहिरका कार्यालयबाट क्रमशः सेवा सुरु गर्दै लग्छौं ।’

४२ मध्ये चार वटा यातायात व्यवस्था कार्यालय रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । ‘यी चार यातायात कार्यालयका भवन तयार गरिँदै छ,’ खतिवडाले भने, ‘त्यसैले सेवा सुरु गर्न अझै केही दिन लाग्न सक्छ ।’ केही दिन नयाँ लाइसेन्सका लागि आवेदन दिनेको संख्या हेरेर प्रणालीमा लोड परे मात्र आवेदन दिने समय निर्धारण गरिने उनले बताए । ‘देशभर सेवा सुरु गरेर आवेदन दिनेको संख्या केही दिन हेर्छौं,’ उनले भने, ‘बढी लोड परे लोड हेरेर आवेदन दिने समय निर्धारण गर्छौं ।’ धेरै लोड पर्दा प्रणालीको गति सुस्त हुने भएकाले त्यो हेरेर मात्र निर्णय गरिने उनको भनाइ छ ।

अघिपछि सामान्य दिनमा सातै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । यो सेवा देशभरकै ४२ यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । त्यस्तै १८ कात्तिकबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ । विभागको डेटा सेन्टर आगजनीबाट क्षति भएसँगै नागरिक एपबाट ड्राइभिङ लाइसेन्स हटेको थियो । अहिले छपाइ गर्न बाँकी २५ लाखभन्दा बढी लाइसेन्स छन् । तीमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्न सुरु गरेको छ ।

केन्द्रले ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ । ‘वैदेशिक रोजगारमा जाने लगायत तुरुन्त लाइसेन्स चाहिनेको हकमा आवेदन विभागले लिन्छ,’ खतिवडाले भने, ‘त्यसलाई मुद्रण केन्द्रमा पठाएर छपाइ गरी उपलब्ध गराउँछौं ।’ त्यसैले तुरुन्त लाइसेन्स चाहिने र पुराना छपाइ गर्न बाँकी लाइसेन्सको संख्या मिलाएर केन्द्रले १२ लाख छपाइ गर्ने उनको भनाइ छ । यसका लागि गत १३ कात्तिकमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

अझै विभागसँग पुराना छपाइ गर्न १३ लाख लाइसेन्स छन् । त्यसका लागि पछि फेरि आवश्यक बजेट व्यवस्थापन गरेर केन्द्रलाई नै छपाइ गर्न दिने विभागको योजना छ । विभागमा रहेको मेसिन जलेर नष्ट भएपछि विभागबाट छपाइ बन्द भएको हो । विभागले लाइसेन्स छपाइ गर्ने मेसिन खरिद नगर्दासम्म तत्काल आवश्यक लाइसेन्स मुद्रण केन्द्रले नै छाप्नेछ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् । प्रणाली चलेकाले कति लाइसेन्स छपाइ भएर बसेका थिए भनेर हेर्ने काम भइरहेको निर्देशक खतिवडाले बताए ।

अहिले पुरानो मितिमा जारी भएका लाइसेन्स नवीकरण गर्दा अवधि पाँच वर्षकै हुने विभागले जनायो । ‘नयाँ नियमअनुसार २०८२ साउन १४ भन्दा पछाडि जारी हुने लाइसेन्स र तिनको नवीकरण गरेपछि समय १० वर्षको हुनेछ,’ उनले भने, ‘त्यसअघि लाइसेन्स नवीकरण अवधि पाँच वर्षकै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...