— एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ मा हुने ११औं महाधिवेशनमा आफू खुला छातीका साथ प्रदर्शन हुने बताएका छन् । महाविधेशनमा उनले लोकतान्त्रिक विधिको उच्चतम अभ्यास हुने बताए ।
सोमबार काठमाडौंमा ‘घर फर्क’ कार्यक्रममा उनले एमाले महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने बताए । ‘मंसिर २७ मेरो छाती कत्रो छ हेर्न आउनू । साँघुरो छ कि फराकिलो छ ?,’ उनले भने ।
‘एमालेमा यस्तो होस् भनेर जे आश गरेका छन् प्रतिक्रियावादीले । हुँडुलो मच्चाउँछन् भन्ने आश छ । अस्थिरता ल्याउन खोजेका छन् एमालेमा । यो निद्रामा चकलेट खाएजस्तो हो । ब्युझिँदा गुलियो हुँदैन । एमाले कुन उचाइबाट उठ्ने छ । आकाशतिर फर्केर दूरबिन लगाएर हेर्ने छन् । लोकतान्त्रिक विधिको उन्नत अभ्यास गर्ने छ,’ ओलीले अगाडि भने ।
आगामी महाधिवेशनमा राजनीतिक बहस नहुने पनि उनको भनाइ छ । ‘हामी सोझै नेतृत्व चयनमा जान्छौँ । संक्षिप्त समीक्षा हुन्छ । यो भाषण महाधिवेशन होइन,’ उनले भने ।