: रनवेमा बिजुली ‘सर्ट’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार साढे ४ घन्टा बन्द भयो। विमानस्थल बन्द हुँदा अवतरण गर्न नपाएका करिब १ दर्जन अन्तर्राष्ट्रिय जहाज भारत, बंगलादेशसम्म डाइभर्ट (वैकल्पिक विमानस्थल) भए।
सिमरा आकाशमाथि दर्जनौं फन्को लगाएर कतार एयरलाइन्स ढाका, कोरियन एयरलाइन्स दिल्ली र फ्लाइ दुबईको जहाज लखनउ विमानस्थल डाइभर्ट भए। तर, नजिकै रहेका पोखरा र भैरहवा विमानस्थलमा जहाज जान मानेनन्।
त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा पोखरा र भैरहवा वैकल्पिक विमानस्थलका रूपमा प्रयोगमा आउन सकेका छैनन्। पछि बनेका दुवै विमानस्थलमा वैकल्पिक अवतरण गर्न सक्ने पूर्वाधार पर्याप्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन्।
पोखरा विमानस्थलका प्रबन्ध निर्देशक जगन्नाथ निरौला पनि अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि ग्राउन्डह्यान्डलिङ, प्राविधिक टोली, होटलहरूलगायतका आवश्यक पूर्वाधार तयार रहेको बताउँछन्। यसअघि ०८१ फागुनमा काठमाडौं अवतरण हुन नसकेको एयर चाइनाको जहाज भने भैरहवा विमानस्थलमा डाइभर्ट भएको थियो। आपतकालीन अवस्थामा अन्तर्राष्ट्रिय जहाजलाई गौतमबुद्ध र पोखरा डाइभर्ट गर्ने अधिकार त्रिभुवन विमानस्थललाई नभएको निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पा बताउँछन्।
‘सम्बन्धित एयरलाइन्सले जहाज गन्तव्य मुलुकमा जानुभन्दा अघि नै केही भैपरी आएको खण्डमा वैकल्पिक विमानस्थल कुन प्रयोग गर्ने भन्ने योजना बनाएका हुन्छन्। कम्पनीले आफ्नो, यात्रुको अनुकूलता हेरेर वैकल्पिक विमानस्थल छानेका हुन्छन्। हामीले कता डाइभर्ट गर्ने भन्न मिल्दैन,’ शेर्पाले भने।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल कुनै जहाज डाइभर्ट भएन भनेर पोखरा र भैरहवा विमानस्थलका विषयमा प्रश्न गर्न नहुने बताउँछन ।
‘पोखरा र भैरहवा विमानस्थलमा विभिन्न वायुसेवा कम्पनी वाइडबडि र न्यारोबडि जहाजहरुले पूर्ण क्षमतामा उडान र अवतरण गरिसकेका छन्,’ भुल भन्छन,‘यसले विमानस्थलमा प्राविधिक समस्या नभएको देखाउँछ। कुनै जहाज डाइभर्ट भएन भनेर यी विमानीस्थल खतम भए भन्ने होइन ।’ वैकल्पिक विमानस्थलमा अवतरण गराउन ग्राउन्ड ह्यान्डलिङ, यात्रुको चेकजाँच गर्ने, रेखदेख गर्ने ग्राउन्ड स्टाफ चाहिन्छन। राति बास बस्नपर्ने भए होटलको सुविधा चाहिन्छ। विमानमा कुनै प्राविधिक समस्या आए प्राविधिक टोली हुनुपर्छ। त्रिभुवन विमानस्थलमा जस्तो सबै सुविधा अन्य २ अन्तर्राष्ट्रिय विमानस्थलमा नहुँदा पनि अन्तर्राष्ट्रिय जहाजले वैकल्पिक रूपमा प्रयोग नगरेको हुन सक्ने प्रवक्ता शेर्पाको भनाइ छ।
दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार हुँदा पनि जहाज डाइभर्ट नहुनुमा नियमित उडान नहुनु प्रमुख कारण रहेको प्राधिकरणका पूर्वमहानिर्देशक क्षेत्री बताउँछन्। प्राधिकरणले आफ्ना विमानस्थलको प्रचार–प्रसार र ब्रान्डिङ गर्न आवश्यक रहेको उनको भनाइ छ।
त्रिभुवन विमानस्थलमा यात्रु चाप बढेपछि गौतमबुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन सरकारले पनि ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट र अन्य ल्यान्डिङ, पार्किङलगायत सबैमा निःशुल्क व्यवस्था गरेको छ। सरकारले ०८३ सालसम्म यस्तो छुटको घोषणा गरेको छ। यात्रुहरूको सन्दर्भमा पनि यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा ३ हजार विमानस्थल शुल्क, १ हजार पर्यटन शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि छुट दिइएको छ। सुरुमा नै भैरहवा र पोखरामा यात्रु नपाउन सकिन्छ भनेर नै कम्पनीहरूको सहजताका लागि सरकारले छुट दिएको हो।
भैरहवा विमानस्थलमा छन् सबै सेवा, तर एयर एसियाको मात्रै उडान
त्रिभुवन विमानस्थलको विकल्पको रूपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो– भैरहवामा। निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरियो। ०७१ माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडानलगायत सबै काम सम्पन्न भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ७० वर्षपछि ०७९ जेठमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने उडान चापलाई कम गर्न अन्तर्राष्ट्रिय उडान डाइभर्ट गर्नुपर्दा पनि आफ्नै विमानस्थल प्रयोग गर्न सकिने गरी वैकल्पिक विमानस्थलको गौतमबुद्ध विमानस्थललाई लिइएको छ।
हाल गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख यात्रुहरूलाई सेवा दिन सक्ने बताइएको छ। दोस्रो टर्मिनल भवन निर्माणपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।
यो विमानस्थलको हालसम्मको लागत करिब ३१ अर्ब पुुगेको छ भने विमानस्थलको भौतिक लागत करिब ११ अर्ब पुुगेको प्राधिकरणले जनाएको छ। आँखाले हेरेर गर्ने (भिजुअल फ्लाइट रुल्स) र उपकरण हेरेर गर्ने (इन्स्टुमेन्टल फ्लाइट रुल्स) दुवै उडान भर्न सकिने गौतमबुद्ध विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजना पनि हो। एयर जजिराको अन्तर्राष्ट्रिय उडान सँगै सुरु भएको यो विमानस्थलमा कतार, एयर एसिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स लगायतका विमानले नियमित उडान गर्दै बन्द गर्दै आएका छन्। हाल एयर एसियाले मात्रै नियमित उडान गर्दै आएको छ।
दैनिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थल
जग्गा अधिग्रहणको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (पुस १७ गते) देखि विमानस्थल सञ्चालनमा आएको थियो। देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय राजधानी पोखरामा छ। चौबिसैघण्टा चल्न सक्ने व्यवस्थित विमानस्थलको रूपमा रहेको पोखरा विमानस्थलमा वर्षमा १० लाख जना आउजाउ गर्न सक्छन्।
प्रतिघण्टा ६ सय १० जनालाई सेवा दिन सक्ने क्षमता विमानस्थलको छ। पोखरामा पर्यटकीय आवागमन बढी नै भएको र पुरानो विमानस्थल सानो भएकोले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो। नयाँ विमानस्थलमा प्रविधिबाट हुने उडान आईएफआर (इन्स्टुमेन्टल फ्लाइट रुल्स) हुँदै आएको छ भने रात्रिकालीन उडान पनि भइरहेको छ। तर, प्रायः आन्तरिक उडान मात्रै हुन्छन्।
चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको हो। सरकारले २०७८ साल असार २६ (सन् २०२१ जुलाई १०) भित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास भएको थियो।
चिनियाँ एक्जिम बैंकले विमानस्थल बनाउन ७५ प्रतिशत ऋण लगानी गरेको छ। २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ सालमा पहिलो पटक जग्गा अधिग्रहण गर्न सुरु भएको थियो। त्यसपछि पटक–पटक गरेर स्थानीयको जग्गा अधिग्रहण गरिएको हो। विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो। यस विमानस्थलमा बोइङ ७५७ र एअबरस ३२० सम्मका मध्यम जहाज तथा न्यारोबडीसम्म उडान तथा अवतरण गर्न सक्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने आधा दर्जन बढी विमान कम्पनीले मध्यम किसिमका जहाज चलाउँछन्। अहिले यो विमानस्थलमा हिमालय एयरलाइन्सले साताको एकपटक सोमबार पोखरा–ल्हासा, ल्हासा–पोखरा उडान गर्दै आएको छ।
यही मंसिर २ र ६ गते भुटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने तयारी गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए। सिचुवानले पनि पुनः उडान सुचारुका लागि पहल गरिरहेको उनले जानकारी दिए। यसअघि पनि सिचुवान एयरलाइन्सले पोखरा सातामा एकपटक उडान
भरेको थियो।
पूर्ण क्षमतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकको पहिरो अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेका छन्। नेपालीसहित करिब ३० विमान कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान भर्छन् भने आन्तरिकतर्फ विमान र हेलिकप्टर गरी २१ कम्पनीहरूले सेवा दिँदै आएका छन्। विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल करिब ७५ लाख छ।
अहिले विमानस्थलमा एयरबस ३३० सम्मका विमानहरू उडान र अवतरण गर्छन्। हाल विमानस्थलले वार्षिक ७५ लाख यात्रुलाई सेवा दिइरहेको छ।