। मकवानपुर र गोरखामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक महोत्तरीको रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।