— पोखरा रंगशालामा शुक्रबार साँझ संगीत र खेल एकै मञ्चमा भेटिए, जब नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी नचायो ।
‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आयोजित कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहृयो । ७ हजार ८ सय जर्सी बिक्री र २ हजार २ सय अतिथि मिलेर रंगशाला भरिभराउ बनेको थियो । नेपथ्यका अमृत गुरुङले ‘हो रामा रामा’ गीतबाट कार्यक्रमको सुरुआत गर्दै एकपछि अर्को चर्चित गीत सुनाए । ‘यो जिन्दगानी’, ‘तालको पानी’, ‘रेशम’, ‘लामपाते सुरती’, ‘मै नाचे छमछम्ती’ लगायतका गीतमा दर्शकले मोबाइल बत्ती बाल्दै साथ दिए ।
मञ्चबाट अमृतले पोखरा एभेन्जर्सलाई एनपीएलमा जीतको शुभकामना दिए र दर्शकलाई ‘क्रिकेटलाई पनि संगीतजस्तै माया गर्न’ आग्रह गरे । उनले पोखरा रंगशालाको इतिहास सम्झिँदै भने, ‘४० वर्षअघिको रंगशाला र अहिलेको पोखरा धेरै फरक छ । एक समय हामीले यहीं खेल्न आउने सपना देख्थ्यौं, आज त्यो सपना पोखराका नयाँ पुस्ताले पूरा गरेको छ ।’ एक दर्जन गीत सुनाएपछि उनले ‘रातो र चन्द्र सूर्य’बाट प्रस्तुतिको बिट मारे । उनले भने, ‘क्रिकेट अब हाम्रो राष्ट्रिय पहिचान बन्दैछ । यो यात्रामा हामी सबैले आफ्नो ताल, स्वर र साथ दिनुपर्छ ।’
कन्सर्टको प्रवेशका लागि टिकट नराखी, दर्शकलाई पोखरा एभेन्जर्सको जर्सी खरिद गरेपछि प्रवेश दिने योजना बनाइएको थियो । पहिलो १ हजार जर्सी १३ घण्टामै बिक्री भएका थिए भने बाँकी जर्सी पनि बिहीबार नै पूर्ण रूपमा ‘सोल्ड आउट’ भएका थिए ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार कन्सर्टको उद्देश्य संगीत र खेललाई एउटै मञ्चमा ल्याएर गण्डकीमा क्रिकेटप्रतिको रुचि बढाउनु थियो । ‘फुटबल र भलिबलजस्ता खेल गण्डकीमा लोकप्रिय छन् तर अब क्रिकेट पनि यहीँको पहिचान बन्न सक्छ भन्ने सन्देश दिन हामीले नेपथ्यसँग सहकार्य गरेका हौं,’ उनले भने ।
उनका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गरिनेछ । एनपीएलको दोस्रो संस्करण १ मंसिरबाट सुरु हुँदैछ । यसअघि पोखरा एभेन्जर्सले ‘ट्रफी टूर’मार्फत गण्डकीका विभिन्न जिल्लामा क्रिकेटको प्रचार गरेको थियो । हाल टिमका खेलाडीहरू भारतमा प्रशिक्षणमा छन् । फ्लड लाइटमा अभ्यास गर्न उनीहरुले भारतको मैदान रोजेका हुन् ।