— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच आपसी समन्वय र सहकार्यबिना विकास सम्भव नहुने बताएका छन् । उनले सबै तहका कर्मचारी र राजनीतिक नेतृत्वबीच सहकार्य भए मात्र सुशासन, पारदर्शिता र विकासका लक्ष्य हासिल गर्न सकिने बताए ।
डडेलधुराको अमरगढी नगरपालिकाको हलमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढीको आयोजनामा भएको ‘संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तर्क्रिया कार्यक्रम’मा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहले हरेक तहका कर्मचारीले एकअर्काको सम्मान गर्दै काम गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भयो भने मात्र विकास निर्माणका काम दिगो रूपमा अघि बढ्न सक्छन्।’ उनले सुदूरपश्चिममा ‘प्रदेश निजामती सेवा ऐन’ कार्यान्वयनमा आइसकेको र ‘स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन’ पनि कार्यान्वयनमा रहेको बताए । तर, ऐन लागूका क्रममा केही समस्या देखिएकाले आवश्यक संशोधनको तयारी भइरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री शाहले ट्रेड युनियन, गाउँपालिका महासंघ, नगरपालिका महासंघ र जिल्ला समन्वय समितिसँग सुझाव संकलन गरेर सुधारका काम भइरहेको समेत बताए।
कार्यक्रममा उपस्थित विभिन्न कार्यालयका प्रमुखहरूले आफ्ना क्षेत्रका गतिविधि र समस्या प्रस्तुत गरेका थिए । उनीहरूले करार र अस्थायी सेवामा कार्यरत कर्मचारी हटाउँदा सेवा प्रवाह चुनौतीपूर्ण बन्ने बताए ।
विद्यालयहरूमा पालिकाको अनुदानमा रहेका शिक्षकदेखि स्वास्थ्यका कर्मचारी र एम्बुलेन्स चालकसम्म अस्थायी रूपमा कार्यरत भएकाले सेवा प्रभावित हुने चिन्ता उनीहरूले व्यक्त गरे ।
अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले योजना छनोट र प्राथमिकताबारे बोल्दै भने, ‘दस लाखमुनिका सबै योजना काटिने भन्ने सुन्नमा आएको छ । दस लाखमुनिका सबै योजना अनावश्यक हुन्छन् भन्ने हुँदैन, दस लाखमाथिका पनि कतिपय योजना आवश्यक नहुन सक्छन् ।’
अमरगढी नगरपालिकाका मेयर डिल्लिराज जोशिले पनि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र स्पष्ट कार्यविभाजन आवश्यक रहेको उल्लेख गरे । उनले सबै योजनालाई टेन्डर प्रणालीमार्फत पारदर्शी रूपमा अघि बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा डडेलधुराका विभिन्न पालिकाका प्रमुख तथा कार्यालय प्रमुख उपस्थिति थियो ।