: दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ री हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी बेपत्ता आरोहीको खोजिकार्य शुक्रबारदेखि स्थगित गरिएको छ।
हिउँ कडा भएपछि खन्न सम्भव नदेखिएकाले खोजिकार्य स्थगित गर्ने निर्णय गरिएको खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाले बताए। खोजिको क्रममा दुई जना विदेशी आरोहीको शव भेटिएको छ। भेटिएका शवमा फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे र इटलिका पाउलो कोको रहेको पासाङ किदर शेर्पाले जानकारी दिए।
खोजिका लागि पुगेको टोलीले अब यो सिजनमा खोजिकार्य सम्भव नहुने देखेपछि फर्कन लागेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
गत कार्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका– ९ को रोल्वालिङ क्षेत्रमा पर्ने ५६३० मिटर उँचाइको यलुङ री हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको टिम पुगेको थियो। कार्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि निस्किएको टिम करिब ८ बजे यलुङ रिको चुचुरा पुग्नु केही मिनेट अघि हिम पहिरोमा परेका थिए।
मंगलवारदेखि सुरु भएको खोज तथा उद्धारको क्रममा सोही दिन आठ जनाको सकुशल उद्धार गरिएको थियो।