: विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै नेपाल पुलिस फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ। खेलको सुरुवाती मिनेटदेखि नै दुवै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। यस संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
खेलमा ७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो। करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउवाले सटिक हेड मार्दै गोल गरिन्। त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो। संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन्।
खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन्। इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोल पोस्ट नजिकैबाट बाहिरियो।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।