: नेतृ रामकुमारी झाँक्रीले आफूलगायत ६ जना नेताहरूलाई कारबाही गरेर माधव नेपालले आफ्नै बेइज्जति गरेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमा नेपाललाई सम्बोधन गर्दै झाँक्रीले नेताहरूमाथि कारबाही गरेर आफ्नै बेइज्जत हुने काम गरेको भन्दै कटाक्ष गरेकी छन्। 'आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरू, अब केही अर्थ छ र ? कारबाहीको लोकले के भन्ला भन्ने पनि लागेन र ? उनले लेखेकी छन्।
उनले पार्टी विघटन भइसकेपछि कारबाहीको अर्थ नहुने जिकिर गरेकी छन्। 'प्रिय कमरेड माधव नेपाल । अभिवादन! आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरू केही अर्थ छ ? अब पनि कारबाहीको लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए। जिन्दगीमा के लानु छ कमरेडरू समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुईजना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ ? हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि,'उनले सामाजिक सञ्जालमा लेखेकी छन्,'बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।'
कार्त्तिक १९ गते पार्टी एकताका दिन सहसंयोजक नेपालले झाँक्रीसहित ६ जना नेताहरूलाई कारबाही गरेका थिए। नेपालले झाँक्री, घनश्याम भूषाल, दामोदर अर्याल, नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठलाई कारवाही गरेका थिए। सोही दिन एकीकृत समाजवादीले माओवादी केन्द्रसहित दश वाम घटनसँग पार्टी एकता घोषणा गरेको हो।