: नागरिकका गुनासाहरुलाई प्रत्यक्ष सुन्नका लागि नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालले ‘हेल्पडेस्कमा प्रमुख जिल्ला अधिकारी कार्यक्रम’ सुरु गरेका छन्।
हालसालै आएका प्रजिअ लम्सालले हरेक दिनको १२ बजेदेखि साढे १२ बजे आधा घण्टा हेल्पडेस्कमा बसेर नागरिकका गुनासा सुन्ने अभ्यास सुरु गरेका हुन्। जिल्लामा प्रजिअको यो नयाँ अभ्यास हो।
हेल्पडेस्क स्थापना गरेर गुनासा सुन्न सुरु गरेका लम्साललाई स्थानीय भाषाका कारण समस्या भएपछि कर्मचारीलाई दोभाषेका रुपमा राखेका छन्। मधेश समुदायका केही सेवाग्राही बोलेको प्रजिअले नबुझ्ने र प्रजिअ बोलेको सेवाग्राहीले बुझ्न कठिन भएपछि उनले कार्यालयकै कर्मचारीलाई दोभाषे राखेका हुन्।
आफूले मात्र होइन अब सबै सरकारी कार्यालयका प्रमुखले पनि नागरिकका गुनासा सुन्ने व्यवस्था प्रजिअ लम्सालले गरेका छन्। हरेक महिनाको एक घण्टा कार्यालय प्रमुखहरुले नागरिकका गुनासो सुन्ने व्यवस्था गरिएको हो। कार्यालय प्रमुखको बैठक हरेक महिनाको २ गते हुँदै आएको छ। विभिन्न कार्यालयमा हुने सेवा प्रवाहका विषयमा हुन सक्ने नागरिकका गुनासा सुन्नका लागि बैठक अघि कार्यालय प्रमुखसँग प्रत्यक्ष भेटघाटसहितको अन्तरकृया कार्यक्रम राखिएको लम्सालले बताए।
त्यसबाहेक प्रजिअ लम्सालले हरेक हप्ताको बुधबार इलाका प्रशासन सेमरीमा पुगेर पनि नागरिकका काम र गुनासा सुनिने बताए। ‘पहिला प्रजिअले गर्नुपर्ने काम लिएर इलाकाबाट कर्मचारीहरु आउने रहेछन्। तत्काल जरुरी नभएका फाइल भएमा हप्ताको एक दिन आफैं पुगेर त्यहाँको काम गर्ने र त्यसबेला सेवाग्राहीको गुनासो सुन्ने तालिका बनाएको छु’, उनले भने।
काम लिएर आएका सेवाग्राहीहरुले अहिले आफ्ना गुनासा निर्धक्क प्रजिअ समक्ष राख्न थालेका छन्। त्यसरी निर्धक्क गुनासा राख्न पाएपछि प्रजिअ लम्सालको अहिले जिल्लावासीले प्रशंसा गर्न थालेका छन्।