: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा उत्तेजना फैलाउन प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुनसक्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै विप्लवले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गर्ने र देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताए। उनले अझै पनि सबै क्षेत्र वर्गका जनताले अग्राधिकार नपाएसम्म संघीयता पूर्णरूपमा कार्यान्वयन नहुने जिकिर गरे।
विप्लवले राज्यसत्ता जनताले बनाएपछि प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने बताए। कम्युनिष्ट एकताले नेपालमा सधैं राम्रो गर्छ भन्ने नरहेको भन्दै विचार नपुर्याए कम्युनिष्ट एकता निकै घातक हुने उनले बताए। त्यस्तै उनले मुलुकमा देखिएको बेतिथिविरुद्ध लाग्नुपर्नेमा समाजवादी मोर्चाले त्यस्तो काम गर्न नसकेको स्वीकार गरे।
उनले राज्यसत्ता निरंकुश र मुर्ख बन्दै गएको अवस्थामा त्यसलाई झकझकाएर जेनजी आन्दोलनले ठूलो गुन लगाएको बताए। त्यसअघि नेकपाको विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो।