: रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्। उनले परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्।
रास्वपा परित्याग गर्दै नयाँ दल गठनको तयारीमा रहेकी श्रेष्ठले पुराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता भएको टिप्पणी गरेकी छन्। उनले परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न भएको बताए। ‘राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन् सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुदै छन्, चुनावी समिकरण मिलाउनको लागि ।’ सामाजिक सञ्जाल एक्समा श्रेष्ठले भनिन्,‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाइ समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु।’
उनले कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न भन्दै प्रश्न गरेकी छन्। श्रेष्ठले भनिन्,‘सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् ( Council of Leaders ) बनाए कस्तो होला ? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?’
उनले अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार भएको बताइन् । श्रेष्ठले भनिन्,‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने "वैकल्पिक" राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।’