— सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो । एन्फाका तर्फबाट प्रवक्ता सुरेश शाहले सहजीकरणका लागि प्रयास गरेका थिए । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवै काठमाडौंबाहिर छन् ।
एक घण्टाभन्दा बढी समय बिताएर भित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरे । त्यसैक्रममा खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरूको सशक्त प्रदर्शन कायम रहने बताए । खेलाडीहरूले ‘एन्फा अझै मस्तीमा, खेलाडीचाहिँ सास्तीमा’, ‘मैदानमा शून्यता, सडक हाम्रो बाध्यता’, ‘एन्फाको आस, खेलाडीको भोकै बास’ र ‘एन्फा भ्रममा नपार, जिउँदै खेलाडी नमार’ नारा लगाएका थिए ।
‘हाम्रो माग भनेकै फुटबल गतिविधि हुनुपर्ने भन्ने हो, नेपाली फुटबलमा रहेका बेथिति हट्नुपर्छ भन्नेमा छौं,’ अध्यक्ष लामाले भने, ‘एक साताभित्र ए डिभिजन गर्ने खाका तयार पारेर एन्फा प्रस्तुत भएन भने अझ सशक्त प्रदर्शन गर्नेछौं । हाम्रो संघर्ष अझ कडा हुनेछ । यो त सुरुआत मात्रै हो । खेलाडीको माग सम्बोधन गर्नु नै पर्छ ।’
त्यसमध्ये कतिपय विदेसिएका छन् । विरोध कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यदेखि पूर्व कप्तानहरूको उपस्थिति थियो ।त्यस अवसरमा राष्ट्रिय टिमका सदस्य रोहित चन्द र अञ्जन विष्टसँगै पूर्वकप्तान विराज महर्जनले ‘ए’ डिभिजन लिग नभएकामा आक्रोश पोखेका थिए ।
एन्फाले ‘ए’ डिभिजन लिगको आयोजना यो वर्ष गर्न नसक्ने भन्दै त्यसको स्थानमा राष्ट्रिय लिग गर्ने भनेको थियो । एन्फाले साढे दुई वर्षभन्दा बढी समयदेखि ‘ए’ डिभिजन आयोजना गर्न सकेको छैन । यसै क्रममा धेरै फुटबल खेलाडी बेरोजगार भएका छन् ।