— नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको प्रदर्शनमा माओवादीले हिंसा र तोडफोड मच्चाउन भूमिका खेलेको आरोप लगाएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा रूपेश श्रेष्ठसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ओली प्रधानमन्त्री भएका बेला संसद्मा उभिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो देश बंगलादेश बन्छ भनेर घोषणा गरेको पृष्ठभूमिमा कुरा गर्दै उनले प्रदर्शनका क्रममा माओवादीले लडाकुहरू खटाएको दाबी गरे । ओलीले आन्दोलनमा माओवादीले आफ्ना मान्छे सहभागी गराएको बताउँदै भने, 'आफ्ना मान्छेलाई सहभागी गराउनु आफैँ सहभागी हुनुजस्तै हो । एक जना होइन, दुई जना हैन । जेन–जी बनाएर पठाएको छ । मान्छे खटाइएको छ । र, एकखाले सत्यतालाई ढाकछोप गर्ने प्रयास भयो ।'
उनले जेन-जी आन्दोलनपछि माओवादी अध्यक्ष दाहालले खेलेको भूमिकामाथि पनि प्रश्न गरेका छन् । दाहालले आफ्नो स्वार्थ पूरा गर्न प्रधानमन्त्री कार्कीको समर्थन गरिरहेको पनि टिप्पणी गरेका छन् । उनले दाहालले प्रधानमन्त्री कार्कीको समर्थन गर्नुको पनि केही कारण भएको बताउँदै भने, 'प्रचण्डजी सायद डराएर हो या बच्नका लागि हो वा केका लागि हो, म जान्दिनँ तर उहाँले चाहिँ प्रधानमन्त्रीलाई समर्थन गरिराख्नुभएको छ ।' ओलीले आफू दाहालजस्तो मान्छे नभएको तर्क गर्दै आफूले जिन्दगीभर लडेर डेमोक्रेसी ल्याएको र आफूलाई त्यसको माया भएको बताउँदै तर्क गरे, 'यो संविधान लेख्दा, यो संविधान जारी गर्दा जे जे झेल्नु परेको थियो, मलाई त याद छ नि ! संशोधन गर्नुपर्छ । तर संशोधन गर्नु र रद्द गर्नु फरक कुरा हो नि ! यो संविधान रद्दको पक्षमा म छैन ।'
ओलीले प्रधानमन्त्री मान्ने तर उनी जुन बाटोबाट त्यहाँ पुगिन्, त्यसमा आफ्नो असहमति रहेको बताएका छन् । उनले भने, 'प्रधानमन्त्रीज्यूको व्यक्तिगत विषयमा म उति जान्दिनँ तर उहाँले निर्वाह गरेको भूमिका भनेको पूर्वप्रधानन्यायाधीशका रूपमा भूमिका निर्वाह गरेको हो । आज देशको प्रधानमन्त्रीको हैसियतमा हुनुभएको हुँदा नागरिकको र तपाईं मेरो सबैको जीवन र धनको सुरक्षा गर्ने, तपाईंलाई र मलाई बराबर न्याय हुन्छ भन्ने विश्वास दिलाउने काम गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।'