: नेकपा एमालेमा फर्किने तयारी गरेका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निसर्तरुपमा मूलघर फर्किन लागेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्कन एमालेसँग वार्ता संवाद गरिरहेको जानकारी दिएका हुन्।
पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै उनले आफूहरू दुवै तिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको बताए । उनले भने, ‘हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी एमाले हो। हामी नेकपा एमालेमा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेको छौँ।’
निवर्तमान सांसदसमेत रहेका श्रेष्ठले सातै प्रदेशमा अभियान चलाएर नेताकार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्ने बताए। श्रेष्ठले संसद् पुनस्थापना भए के गर्नुहुन्छ भन्ने प्रश्नमा बहुमत सांसद आफ्नो पक्षमा रहेको जानकारी गराए। ‘१० जनामध्ये अध्यक्ष माधवकुमार नेपाल निलम्बनमा हुनुहुन्थ्यो। प्रतिनिधि सभा पुनस्थापना भएपनि ९ जनामध्ये बहुमत सदस्य हामीसँगै हुनुहुन्छ’उनले भने।
आफूहरूले जाने र नजानेर एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै फर्कने वातावरण बनाइदिन पनि श्रेष्ठले एमाले नेतृत्वलाई अनुरोध गरे।