। बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल गरेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा भएको ट्याकलपछि मैदानमा लडेका हाकिमी पीडामा देखिएका थिए। त्यसपछि उनी अन्य खेलाडीको सहयोगमा रुँदै मैदानबाट बाहिरिएका थिए ।
डियाजलाई रेफ्रीले सुरुमा पहेंलो कार्ड देखाए पनि भीएआर समीक्षा पछि निर्णय परिवर्तन गर्दै रातो कार्ड दिएका हुन्। मोरोक्कोका कप्तान समेत रहेका हाकिमीलाई गम्भीर चोट लागेको आशंका गरिएको छ।
डियाजले खेलको पहिलो हाफमै बायर्नका लागि दुई गोल गरेका थिए, तर त्यसपछि फाउलका कारण ‘हिरोबाट भिलेन’ बने। रातो कार्ड पाएपछि उनले अब कम्तीमा एक खेलको प्रतिबन्ध भोग्नेछन्।
पीएसजीका लागि पनि मुख्य खेलाडी घाइते हुनुले ठूलो धक्का लागेको छ । त्यसैगरी अफ्रिका कप अफ नेशन्स २०२५ सुरु हुन केही हप्ता मात्रै बाँकी रहेको अवस्थामा मोरक्कोका लागि पनि खेल गुमाउने सम्भावना बढेको छ ।
यदि चोट गम्भीर भएमा हाकिमीले पीएसजी मात्र नभएर मोरोक्कोका लागि कप पनि खेल्न नपाउने सम्भावना छ।
बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लगातार चार खेल जितेर शीर्षस्थानमा छ ।