— बैतडीको पञ्चेश्वर गाउँपालिकाका दुई वडा स्थानीय तह निर्वाचन सम्पन्न भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र आम्चौरासँग सडक संजालले जोडिएका छन् ।
दसरथ चन्द नगरपालिकासँग सीमा जोडिएका गाउँपालिकाका ५ र ६ वडा अहिलेसम्म सडक संजालले नजोडिँदा यहाँका जनतालाई पालिकाको सेवा लिन घण्टौं हिँडेर जानुपर्ने बाध्यता थियो । बुढापाकालाई सामाजिक सुरक्षा भत्ता र अन्य सेवा लिन बोकेर ल्याउनु पर्थ्यो । गाडीमा ल्याउन खोज्दा जिल्लाका तीन पालिका घुमाएर ल्याउनु पर्ने बाध्यता थियो ।
अहिले महाकाली करिडोर निर्माण भएपछि यी दुई वडाबाट पालिका केन्द्रसम्म आउन सहज भएको हो । ‘महाकाली करिडोरको ट्रयाकले त गाउँपालिका केन्द्रसँग जोडिदियो,’ पञ्चेश्वर–५ का वडाअध्यक्ष नरेश चन्दले भने, ‘करिडोरको ट्रयाकको ग्रेडिङ मिलेको छैन, केही दिनभित्रै त्यो पनि मिल्छ ।’
यी दुई वडाका जनतालाई पालिका केन्द्र भन्दा पनि बैंकिङ सेवा लिन झन् टाढा आउनुपर्ने समस्या थियो । सामाजिक सुरक्षा भत्ताका लागि दुई दिनको बास बसेर पुग्नुपर्ने बाध्यता पनि सडक सञ्जाल जोडिएपछि सहज हुने वडाध्यक्ष चन्दले बताए ।
बैंकले वडामै सेवा दिन खोज्दा पनि तीन पालिका घुमेर जानु परेको नबिल बैंक शाखा पञ्चेश्वरका प्रबन्धक सम्राट सिंह महताले बताए । ‘त्यहाँका जनताको सहजताका लागि शिवनाथ मेलौली र दशरथचन्द नगरपालिकाको बाटो भएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका थियौं,’ उनले भने, ‘अब सडक सञ्जालले जाडिएपछि सहज हुने भयो ।’
गाउँपालिकाले पहिले नै यी दुई वडालाई पालिका केन्द्रसम्म जोड्नका लागि सडक निर्माण गर्दा स्थानीयले जग्गा विवाद गरेपछि सडक अधुरो रहेको थियो । निर्वाचित भइसकेको दोस्रो वर्ष नै सडक निर्माण सुरु गर्दा स्थानीयको अवरोधले अहिलेसम्म सडक पुग्न नसकेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले करिडोरले ट्रयाक खोलेपछि ती दुई वडाका जनतालाई पालिकाको केन्द्रसम्म पुग्न गाडीमा दुई घण्टा लाग्छ, अब केही सहज भएको छ,’ उनले भने ।