— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् ।
उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि अघि सारेका छन् । उनले निर्वाचनमा भाग लिने कुरालाइ प्राथमिकतामा राख्नुपर्ने बताउँदै भने, 'निर्वाचन सम्बन्धमा पार्टीमा विवाद छैन । जनता र देशसँगको सरोकारको विषय भएकाले पहिला निर्वाचनको विषयमा नै निर्णय गरौं भन्दा पनि नमानेपछि केही पदाधिकारीमाथि हामीलाई शंका उब्जेको छ । निर्वाचनमा भाग नलिनका लागि पार्टीलाई यिनीहरूले अनिर्णयको बन्दी बनाए भनेर भ्रम फैलाउने काममा लागेका त होइनन् ?'
कांग्रेसको १५ औं महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछाडि भन्ने विषयले असोज २८ देखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिर्णयको बन्दी बनेको छ । पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान सकिँदैन भन्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्षका अधिकांश नेताको धारणा छ । तर, महाधिवेशनमा होमिँदा निर्वाचनको तयारी गर्न सकिँदैन भन्दै संस्थापन पक्षका नेताहरू आगामी वैशाखमा महाधिवेशनको तालिकाको प्रस्ताव गरिरहेका छन् । यही पृष्ठभूमीमा उनले निर्वाचन अघि महाधिवेशनतिर लाग्दा परिस्थिती विग्रने पनि बताएका हुन् । उनले भने, 'अहिलेको अवस्थामा ‘ट्रयाक’ बाहिर गएको संविधान र राजनीतिलाई लिकमा ल्याउन पहिला प्रतिनिधिसभा ल्याउनुपर्छ । ल्याउनका लागि सबै पार्टी निर्वाचनमा होमिनुपर्छ । निर्वाचनअगाडि महाधिवेशनलाई समय दिन सकिन्न । घरमा रोटी पकाउँदा तावामा रोटी राख्ने र अन्त ध्यान दिने हो भने रोटी डढ्छ । त्यसैले हाम्रो एकमात्रै फोकस यतिबेला निर्वाचन नै हुनुपर्छ ।'
उनले निर्वाचनको तयारी गर्न समय लाग्ने बताउँदै महामन्त्रीहरूले अघि सारेको मागलाइ अदूरदर्शी र अपरिपक्व रहेको बताए । उनले भने, 'यसले ल्याउने दुष्परिणामको पक्षमा हामी छैनौं ।'