— रौतहटको कटहरिया नगरपालिकाका दैनिक ज्यालादारीका कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । पाँच दिनदेखि कार्यालयमा ताला लागेपछि सेवाग्रही मारमा परेका छन् ।
दैनिक ज्यालादारीमा भर्ना भएका झन्डै १७० कर्मचारीले तीन वर्षदेखि तलब नपाएको भन्दै ताला लगाएका हुन् । अहिले पालिकासहित दसवटै वडा कार्यालयमा ताला लागेको छ ।
लामो समयदेखि तलब निकासा नगरेको र पर्वमा समेत नपाएको भन्दै ज्यालादारीका कर्मचारी आक्रोशित छन् । नगरपालिका र सबै वडा कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारीले तलब–भत्ताको माग गर्दै कातिक १२ गते नै कार्यालयमा ताला लगाएको प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले जानकारी दिए । ‘तीन वर्षदेखि ज्यालादारीका कर्मचारी साथीहरुले तलब पाएका छैनन् भनेर थाहा पाएपछि कागजी प्रक्रियाको थालनी मैले नै गरेको हुँ,’ उनले भने, 'केही कर्मचारीले कागज बुझाए । केहीको बाँकी नै थियो । यहीबीच धेरै नै प्राविधिक कठिनाइ हुन थाल्यो र समस्या समाधान हुन सकेन ।’
समस्या समाधान हुनुको साटो बल्झिन थालेपछि अधिकृत नेपालीले जिल्ला छाडेका छन् ।कर्मचारीे आन्दोलनका कारण लामो बिदा लिएर आफू काठमाडौं बसेको उनले बताए ।
आन्दोलित कर्मचारीले लामो समयदेखिको तलब र सेवासुविधा माग गर्दै नगरपालिकासहित १ देखि ९ नम्बर वडाका कार्यालयमा ताला लगाएका छन् । तालाबन्दीपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प छ ।
कार्यालय बन्द हुँदा नगरका सेवाग्राही मरमा परेका छन् । उनीहरुले यथाशक्य चाडो समस्या समाधान गर्न सम्बन्धित पक्षसित अनुरोध गरेका छन् । कर्मचारीहरुले भने आफ्नो माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् । ‘हामीले आफ्नो तलब मागेका हौं । यसमा ढिलासुस्ती गर्नुपर्ने कारण केही छैन,’ एक कर्मचारीले भने, ‘कहिले नगरप्रमुखले झुलाउने, कहिले प्रमुख प्रशासकीय अधिकृतले झुलाउने । अब माग पूरा भएपछि मात्र ताला खोल्छौं ।’
नगर प्रमुख अजय प्रकाश जयसवालले ज्यालादारीका कर्मचारीले तलब पाउनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताए । ‘मैले त तलब निकासा गरिदिनुस् भनेकै हो,’ उनले भने, ‘अहिले प्रमुख प्रशासकीय अधिकृत नै कार्यालय छाडेर हिँडिसकेका छन् । म आफै समस्या समाधान गरेर ताला खुलाउनेमा लागेको छु ।’