— गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमै समाहित भएको छ । २०७४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानको मुद्दा छाडेको भन्दै किराती छुट्टिएका थिए ।
कुनै समय माओवादीलाई 'खाओवादी' भन्दै उनी आफ्नो असन्तुष्टि पोख्थे । पछिल्लो समय भने प्रतिकूल परिस्थिति भन्दै उनी माओवादीमै फर्किएका हुन् । माओवादी अध्यक्ष दाहालसँग ३ बुँदे सहमति गर्दै उनी पुन: पुरानै पार्टीमा फर्किएका हुन् ।
नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकाले क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कुरा भएको दाहाल र किरातीले गरेको सहमतिमा उल्लेख छ । साथै विगतमा भए/गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समीक्षाको दस्ताबेजीकरण गर्नेसमेत उल्लेख छ ।
यस्तो छ तीन बुँदे सहमति
१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने ।
२. कमरेड गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने ।
३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।
अन्त्यमा, स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनबीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गर्दछौं ।