: पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगाडि नै विदेशी नागरिकलाई लैजाने एजेन्सी कारबाहीमा परेको छ। मल्टि एड्भेञ्चर प्रा.लिले जर्मनका नागरिक मार्टिन सरमलाई अनुमति लिएको मिति अगाडि नै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पदयात्रामा लगेको हो।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरेको छ। कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा विदेशी नागरिक (Martin Shramn, Germany) लिएर गएको थियो। नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्छ।
अध्यागमन नियमावली, २०५१ मा पदयात्रा अनुमति लिई पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ। उक्त कानुनी व्यवस्थाको विपरीत पदयात्रा गराएको कसुरमा जर्मनका नागरिकलाई पदयात्रा भ्रमणमा लैजाने गरी उक्त कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको थियो। तर सो मितिको एक दिन अगाडि नै उक्त टोली कञ्चनजंघा क्षेत्रमा पुगेको थियो । तर त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिंग गाइड दाईला शेर्पा पदयात्रामा गएका थिए। शेर्पालाई कारबाही गर्न पर्यटन बोर्डमा समेत लेखी पठाइएको छ ।
नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका १५ कजिल्लाका केही क्षेत्रलाई सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ।