: जिल्ला प्रशासन कार्यालय गौरले अपांगता भएका व्यक्तिलाई टैम्पुमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।
गौर नगरपालिका-४ टिकुलिया गाउँका लक्ष्मीनारायण राउतलाई जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मनिष झा र नायब सुब्बा रामनरेश साहले जिल्ला प्रशासन कार्यालय अगाडि टैम्पुमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन्।
शारीरिक रूपमा पूर्ण अशक्त लक्ष्मीनारायण राउत नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले टेम्पुमै पुगेर नागरिकता प्रदान गरेको नायब सुब्बा रामनरेश साहले बताए। ‘मानसिक तथा शारीरिक रूपमा पूर्ण अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ, उनले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका रहेछन्,’ साहले भने।’
जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा गाडीमा अथवा जहाँ सहज हुन्छ त्यही पुगेर नागरिकता उपलब्ध गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत मनिष झाले बताए।
वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी टेम्पुमै १० मिनेट भित्र नागरिकता पाउँदा राउतले खुसी व्यक्त गर्दै प्रशासनलाई धन्यवाद दिए। नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरेमा कानुनअनुसार सहयोग गरिने कार्यालयले जनाएको छ।