: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन बेलिब्रिज एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ।
चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए। चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको बताए। गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको हो।
चिनियाँ टोलीले बेलिब्रिज निर्माणको काम सुरु गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आगामी भदौ ३० गतेसम्ममा पुल निर्माण भइसक्ने बताए। उनका अनुसार चिनियाँ टोलीले निर्माणको कामलाई तीव्रता दिएको छ।
२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडक सञ्जाल टुटेको छ। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ।
उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।