: सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल श्रेष्ठ (उर्फ मोहन श्रेष्ठ) र सोही स्थानका २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। शनिबार राति प्रहरीले गरेको सर्च अप्रेसनमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाबाट संयुक्त टोली खटिएको थियो।
टोलीले लौकहीबाट इनरुवातर्फ आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए। प्रहरीले खानतलासी गर्दा सुशिलको साथबाट दुईवटा कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा ५.८५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जना अभियुक्त, मोटरसाइकल र बरामद गरिएको ब्राउन सुगरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।