: सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा शनिबार बिहान ३ बजेतिर भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।
चोरीमा संलग्न धरान–१५ कै २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरी केही समयसम्म बिजुलीको पोलमा बाँधेर राखेका थिए। स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएका छन्।
प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत भएको र चोरीका क्रममा उनी लागुऔषधको नशामा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले स्थानीयका घरघरबाट भाँडा–बर्तन लगायतका सामग्री चोरेका थिए। चोरी गरेका केही सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। कृष्ण चेम्जोङ टोल विकास संस्थाले सो क्षेत्रभित्र वा बाहिर कसैको सर–सामान हराएको भए तत्काल प्रहरीमा उजुरी दिन आग्रह गरेको छ।