: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए।
त्यस्तै उनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।
खेलकुद विकास कोषमा कम्पनीहरूले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे।
त्यस्तै उनले सबै खेलका खेलाडीहरूलाई परिचय पत्र वितरण गर्ने तयारी समेत आफूले गरेको बताए।
नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ।