: काठमाडौं लगायतका स्थानहरूमा जेन-जी आन्दोलनको आवरणमा तोडफोड र आगजनी गर्नेहरू धमाधम पक्राउ परिरहेका बेला कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा दोषीहरू खुलेआम हिँडिरहेका छन्। भदौ २४ गतेको जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरी आपराधिक समूहले सरकारी कार्यालय, व्यापारिक भवन, राजनीतिक दलका कार्यालय र जनप्रतिनिधि र दलका नेताहरूका आवासमा व्यापक क्षति पुर्याएका थिए।
जेन-जी आन्दोलनको आवरणमा सुनसरी, मोरङ र झापामा भएका क्षतिको परिमाण ठूलो छ। यहाँ प्रहरी कार्यालयसहित १ सय ५० भन्दा बढी सरकारी कार्यालय र ठूलो आकारका व्यापारी भवनहरू र दर्जनौं जनप्रतिनिधि र नेताहरूको घरमा आगलागी र तोडफोड भएका छन्। यतिबेला व्यापारिक समुदाय, राजनीतिक दलहरू र सर्वसाधारण सबैले सुरक्षा र न्यायको प्रत्याभूति मागिरहेका छन्। स्थानीय बासिन्दा, स्थानीय राजनीतिक नेतृत्व र प्रहरी प्रशासनबीच समन्वय हुन नसक्नु र राजनीतिक प्रभावले अनुसन्धानमा अवरोध आएको शंकाले घटनाको गम्भीरता झन् बढाएको छ।
घटनापश्चात् पीडितले प्रहरीमा किटानी जाहेरी दिएको भए पनि स्थानीय प्रशासन र प्रहरीबाट ठोस कारबाही नगरिएको भन्दै पीडित र स्थानीयवासी आक्रोशित भएका छन्। सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढीको नामसहित किटानी जाहेरी परेको छ। धरानका पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, तथा कांग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाललगायतले आफ्ना घरमा तोडफोड तथा आगजनी भएको बन्दै दोषीको किटान गरी प्रहरीमा उजुरी दिएका छन्। त्यस्तै एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयमा समेत आगजनी गरिएपछि पार्टीहरूले पनि उजुरी दिएका छन्।
कांग्रेस कोशीका महामन्त्री उमेश थापाले आक्रमणकारीहरूलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन निरीह बनेको आरोप लगाए। उनले जेन-जी समूहको विशुद्ध आन्दोलनमा घुसपैठ गरी आगजनी गर्ने सबैलाई पक्राउ गरी कारबाही नगरी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। सुनसरीमा २९ सरकारी कार्यालयमा आगजनी गरिएको छ। इटहरी उपमहानगरपालिका, अख्तियार, राजस्व, यातायात कार्यालय, रामधुनी, दुहबी, वरहाक्षेत्र नगरपालिका तथा इलाका प्रहरी कार्यालय इटहरी र पोकलीलगायतका कार्यालयमा ठूलो क्षति पुर्याइएको छ।
मोरङमा मुख्य मन्त्री कार्यालय, प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय तथा रतुवामाई, रंगेली, बेलबारी र विराटनगर आसपासमा सरकारी भवन, व्यापारी पसल र सवारीसाधनमा आगजनी र तोडफोड भएका छन्। प्रारम्भिक रूपमा केही आक्रमणकारीलाई नियन्त्रणमा लिएको भए पनि उनीहरूलाई प्रहरीले छाडिसकेको छ। घटनाका ठूला योजनाकार र मुख्य समूहहरू अझै पक्राउ नपर्नु र सजाय नहुनुले प्रहरीको कार्यशैलीमा स्थानीयलाई शंकास्पद बनाएको छ। झापामा दमक, बिर्तामोड र चारपाने क्षेत्रमा सरकारी कार्यालय र सवारीसाधनमा आगजनी गर्ने अभियुक्त पहिचान भइसकेको भए पनि पक्राउ गरि कारबाही अगाडि नबढ्नुले नै प्रहरी प्रशासनको आलोचना बढाएको छ। धरानको घटनामा पत्रकार विमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई र दीपचन्द्र राई (कान्छी) लगायतको पहिचान भइसकेको छ।
धरानका पीडितले उजुरी दिएको डेढ महिना भयो। प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएन। अपराधीहरू खुलेआम हिँडिरहेका छन्। यसले दण्डहीनतालाई प्रश्रय दिएको छ। पूर्वमेयर मेन्याङ्बोले आफ्नै घरमा आगजनी गर्नेहरूको नामसमेत उल्लेख गरी प्रहरीलाई उजुरी दिएको भए पनि कारबाही नभएको बताए। स्थानीय नेताहरू र पीडितले फोटो, भिडियोसहित प्रहरीलाई पेस गरिसक्दा पनि अनुसन्धान र गिरफ्तारीमा निष्क्रियता देखिनुले जनता बीचमा गहिरो असन्तोष र अविश्वास बढाएको छ।
प्रहरी प्रशासनका केही उच्चपदस्थ अधिकारीहरूले प्रमाण संकलन र अनुसन्धान भइरहेको बताएका छन्। सुनसरी र मोरङमा प्रहरी अधिकारीहरूको सरुवा र उनीहरूको जिम्मेवारी हस्तान्तरणले पनि अनुसन्धानमा असर परेको छ। कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले आक्रमणकारीको पहिचान र प्रमाणहरू संकलन भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले तोडफोड र आगजनी गर्ने तीन जनालाई झापाबाट पक्राउ गरी मुद्दा चलाइएको बताए। प्रहरीले पीडित र नागरिकको विश्वास जित्न तथ्यगत, छिटो र पारदर्शी काम गर्न आवश्यक रहेको स्थानीयको माग छ।