: जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र मातहतका इकाइबाट खटिएका प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पनौती-३ का २८ वर्षीय अनिष सापकोटा, पनौती-८ का २६ वर्षीय सुमन केसी, बनेपा-१० का २१ वर्षीय साकार केसी, बेथानचोक-६ का १९ वर्षीय समिर तामाङ, बेथानचोक-३ का चिउरे भनिने ३२ वर्षीय होमप्रसाद तिमिल्सिना, पनौती-२ का स्यान्जी भनिने २४ वर्षीय सुवास तामाङ र महाभारत-४ का २३ वर्षीय ङेमासाङ मुक्तान रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन विष्टका अनुसार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूले सरकारी भवन, प्रहरी कार्यालय र निजी सम्पत्तिमाथि समेत आगजनी र लुटपाट गरी फरार भएका थिए। पक्राउ परेका तीन जनाविरुद्ध पहिल्यैदेखि विभिन्न कसूरमा मुद्दा दर्ता भएको प्रवक्ता विष्टले बताए।
उनका अनुसार सापकोटाविरुद्ध २०७२ सालमै अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। त्यस्तै तिमिल्सिनाविरुद्ध २०८१ सालमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ भने सुवासविरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताए।