: कांग्रेसको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षधर नेताहरूले फागुन २१ को चुनावपछि पार्टी महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। तर इतर पक्षले मंसिरमा नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। बिहीबारदेखि पुनः सुरु केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे संस्थापन र इतर पक्षका नेताहरूले फरकफरक मत राखेका हुन्। त्यसैकारण महाधिवेशनको मितिबारे कांग्रेसमा किचलो बढ्दै गएको छ।
महाधिवेशनको विषयमा समान धारणा र सहमति बन्न नसक्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनको तालिका पेस गर्न सकस भइरहेको छ। यद्यपि, सहमति जुटाउन खडका चौतर्फी कुदिरहेका छन्। कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षसँगै अन्य नेताहरूलाई सहमति जुटाउनमै अभ्यस्त रहे। कांग्रेसमा संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा छ। संस्थापन पक्षले सबै मुद्दालाई व्यवस्थापन गर्दा वैशाखमा महाधिवेशन गर्न उचित हुने भनिरहेको छ। अर्कोतिर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेको अवस्था छ।
महामन्त्रीद्वय थापा, शर्मा र इतरपक्षीय नेता शेखर कोइराला पक्षधर भने ढिलोमा पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा टसमस छैन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने बिहीबारको बैठकमा पनि फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने भन्नेमा पार्टीमा बलियो बहुमत रहेको दाबी गरे। बैठकमा बोल्ने अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा धारणा राखेको पनि उल्लेख गरे। उनले भने, ‘सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्छ। अहिले १५औं महाधिवेशनमा चुनावअघि कि पछि गर्ने भन्नेमा मतभिन्नता हो। त्यसमा सम्पूर्ण पार्टी केन्द्रित होऔं। त्यसपछि महाधिवेशनमा जाने कुरा गर्नुभएको छ।’
उनले विशेष महाधिवेशनको कुरा उठेपछि महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको विषयमा केही प्रश्न उठेको बताए। कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए। बैठकमा आमन्त्रित सदस्यका रूपमा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँले महाधिवेशनबारे अपरिपक्व निर्णय गर्दा पार्टीलाई क्षति पुग्ने बताए। उनले भने, ‘महाधिवेशन गर्ने मितिबारे निर्णय गर्दै जाने र पछि त्यसलाई कार्यान्वयनको वातावरण नबनाई अर्को निर्णय गर्ने हो भने पार्टी अपरिपक्व ठहरिन्छ। निर्णय गर्दा केन्द्रीय समितिले विशेष मनन् गरेर निर्णय गर्नु पर्दछ।’
उनले पार्टीभित्रको विवादलाई विन–विन सिचुयसनमा जाने अवस्था बनाउनुपर्ने उल्लेख गरे। प्रदेश सभापति बानियाँले आगामी मंसिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको भन्दै उनले भने, ‘विशेष महाधिवेशनको बहस भइरहेको छ। प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मंसिरभित्र हुने अवस्था देख्दिनँ। क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झनै सम्भव छैन।’
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जारी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा नियमित महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने धारणा राखिन्।
उनले निर्वाचनमा जाने अवस्थामा फागुनअघि महाधिवेशन हुन नसक्ने बताइन्। ‘चुनावमा जाने कि संसद् पुनस्र्थापनामा जाने हो ? बटम लाइन क्लियर हुनुपर्यो,’ खतिवडाले भनिन्, ‘सर्वसम्मत रूपमा नियमित महाधिवेशनको समय तोकेर अगाडि जानुपर्यो। होइन, चुनावमा जाने हो भने चुनावपछि महाधिवेशन गर्नुपर्यो।’
खतिवडाले देश, शासन व्यवस्था र कांग्रेस संकटमा परेको समयमा पार्टीभित्र नियमित कि विशेष महाधिवेशन भनेर विवाद गर्नु उपयुक्त नभएको भन्दै अगाडि भनिन्, ‘राष्ट्र, व्यवस्था र पार्टी संकटमा छ, हामी चैं नियमित कि विशेष भनेर छलफलमा छौं। खै हाम्रो जेन-जी मुभमेन्टको बारेमा आधिकारिक दृष्टिकोण ?’
यस्तो अवस्थामा कांग्रेसका ६ महानगर सभापतिहरूले बैठक गरेर एक महिनाभित्रै नियमित महाधिवेशन गर्न सकिने भन्दै कार्यतालिका नै प्रस्ताव गरी केन्द्रीय कार्यालयमा पेस गरेका छन्। कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले पार्टीमा देखिएको पछिल्लो तनाव यथावत् राखेर निर्वाचनमा जाने र ठूलो पार्टी बन्ने कल्पना गर्न नहुने बताए। पार्टीमा अहिलेको खिचातानीका बीच चुनावमा गएर पार्टीले राम्रो नतिजा प्राप्त नगर्ने भन्दै उनले भने, ‘विधानमा जे व्यवस्था छ त्योअनुसार गरौं। यही खिचातानीमा हामी चुनावमा जाऔंला, ठूलो पार्टी बनौंला भन्ने खालको कल्पना नगरौं।’
पार्टीका नेताहरूलाई उनले आफ्नो इन्ट्रेसमा ढाल्न खोजेको भन्दै अगाडि भने, ‘यहाँ विशेष महाधिवेशनको माग गर्ने साथीहरू पार्टी फुटाउने ? अरू साथीहरू पार्टी जुटाउने ? विधानलाई आफूअनुकूल व्याख्या गर्ने कसैलाई अधिकार छैन। समस्या छ त हामीमा छ, नेतामा छ। त्यसकारण समस्याभन्दा माथि उठेर अहिले देशको परिस्थितिलाई हेरेर पार्टीलाई एक ढिक्का बनाउने गरी लाग्नुपर्ने बेला आएको छ।’
पुनले पार्टी जेन-जी आन्दोलनअघिकै शैलीमा अगाडि बढिरहेको भन्दै आपत्ति जनाए। ‘सधैं जसरी चलिरहेका छौं, त्यही नै छ। नयाँ के भएको छ ? ’ उनको भनाइ थियो, ‘भदौ २३ र २४ गतेको घटना केही पनि होइन भन्ने रूपले गइरहेका छौं। समयलाई समाउन पर्दैन ? कार्यकर्ताले हामीलाई के भन्छन् ? जेन-जीको माग पहिला पार्टीमा समेटौं।’
बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र पोखरेल नेपाली, बहादुरसिंह लामा तामाङ, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीलगायतले धारणा राखेका थिए। बैठक शुक्रबार १ बजे पनि बस्दैछ।