: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग पार्टी एकीकरण गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले एकीकृत समाजवादी पार्टी माओवादीसँग एकीकरण भए पनि आफूलगायत ठूलो संख्याका नेताहरू माओवादीमा नजाने स्पष्ट पारेका छन्। यसै सन्दर्भमा खनालले अन्नपूर्णपोस्ट्सँग टेलिफोनमा छोटो कुराकानी गरेका छन्।
अन्नपूर्णपोस्ट्का लागि शम्भु कट्टेलले नेता खनालसँग 'अब के गर्नु हुन्छ?' भनी सोधेका छन्।
नेकपा माओवादी केन्द्रमा जान सकिँदैन। अध्यक्ष माधव नेपालले गैरजिम्मेवारीपूर्ण निर्णय गर्नुभयो। हामी अब नयाँ पार्टी बनाउँछौं।
कस्तो खालको पार्टी बनाउनुहुन्छ?
क्रान्तिकारी पार्टी बनाउछौं। नेपालमा समाजवादी क्रान्ति गर्ने पार्टी बनाउँछौं।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै घरमा फर्किनुस् भनेर आह्वान गर्नुभयो। एमालेमा फर्किने सम्भावना कतिको छ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु ठीकै हो। आह्वान गरेको कुरा नराम्रो होइन। त्यसका लागि हामी धन्यवाद दिन्छौं। तर, हामी अलि फरक परिस्थितिमा छौं। हामी हाम्रो पार्टी आफ्नै ढंगले बनाउँछौं। एउटा क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रमका आधारमा नयाँ पार्टी बनाउँछौं।
भनेपछि तत्काल एमालेमा फर्किने सम्भावना छैन हैन त?
अहिले त्यो कुरा छोडिदिनुस्। हामी नयाँ क्रान्तिकारी पार्टी बनाउँछौं।
पार्टी अध्यक्ष माधव कुमार नेपालले तपाईंहरूको असहमतिका बावजुद किन एकतामा जाने निर्णय गर्नुभयो?
उहाँ, पार्टी सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्नुभयो। चार वर्ष अगाडि विद्रोह गरेको, त्यो बेला क्रान्तिकारी लाइन लिएको भए पार्टी बन्थ्यो। उहाँले पूरै दक्षिणपन्थी लाइन लिनुभयो। त्यसले गर्दा पार्टी बनाउनै सक्नुभएन। पार्टी खिइँदै खिइँदै चलाउन नसक्ने अवस्थामा पुगिसक्यो। अब त लाज हुने भयो। पार्टी चलेन भने त लाज हुन्छ नि? अनि टक्क एकीकरणको राम्रो रातो ब्यानर बनाएर उता घुसाइदिएपछि बचिएन त।
कहिलेसम्म नयाँ पार्टी बनाउनुहुन्छ?
एकदम चाँडो नयाँ पार्टी घोषणा गर्छौं। त्यसमा ढुक्क हुनुस्।