 
                                                                                            — महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको यी विवरण एवम् प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरु समावेश गरिएका छन् ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ । यद्यपि, विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख रुपैयाँले धनात्मक देखिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    