 
                                                                                            — सहिद स्मारक लिग ‘ए’ डिभिजन नभएको तीन वर्ष छुनै लाग्दा त्यसको आयोजनालाई लिएर बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ । लिग आयोजनाका लागि यस्तो छलफल मन्त्रालयमा अनावश्यक रहेको धारणा बाहिर आइरहेकै बेला यो भेला भएको हो । 
युवा तथा खेलकुदमन्त्रीमा बल्लु गुप्ताको नियुक्तिपछि यो छलफल सुरु भएको हो । त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो ।
त्यस अवसरमा एन्फाका महासचिव किरण राईले लिग सञ्चालनका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका थिए । उनले लिगका लागि प्रायोजक खोज्न पनि गाह्रो भइरहेको दाबी गर्दै फिफा र एएफसीबाट आउने रकम सिधै लिग आयोजना गर्न नमिल्ने पनि बताए ।
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले बिहीबारको छलफल निकै अर्थपूर्ण, सकारात्मक र आशापूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'युवा तथा खेलकुद मन्त्रालय अखिल नेपाल फुटबल संघ र ए–डिभिजन क्लबहरूबीच खुलेर भएको छलफलले नेपाली फुटबलको वर्तमान अवस्था र भविष्यप्रति सबैको जिम्मेवारी, प्रतिबद्धता र समझदारी स्पष्ट रूपमा देखाएको छ।'
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    