 
                                                                                            — वर्षौंदेखि मर्मत नभएर खाल्डाखुल्डी बनेको पर्यटकीय नगर तानसेन बजारका सडक मर्मत गर्न स्थानीयले माग गरेका छन् । तानसेन नगरपालिका–५, कैलाशनगरका वडाध्यक्ष रामबहादुर रावलसहित स्थानीय बासिन्दाको अगुवाइमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सडकका खाल्डाखुल्डी मर्मत गर्नुपर्ने साथै पर्यटकीय नगरको सरसफाइमा ध्यान पुर्याउन माग गरेका हुन् ।
तानसेन पश्चिम पहाडको पर्यटकीय नगर हो । यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण छ । तानसेन नगरपालिका बजार क्षेत्रका सडक भने कहिल्यै सुधार हुन नसकेको तानसेन नगरपालिका–५, कैलाशनगरका युवा अर्जुन कार्कीले बताए । पर्यटकीय नगर तानसेन प्रवेश गर्ने जतासुकैका सडकमा कालोपत्र उप्किएको छ । अधिकांश सडक खाल्डाखुल्डीसमेत भएको युवा कार्कीले बताए ।
‘सरोकारवाला निकाय तानसेन नगरपालिकाको भने खासै ध्यान पुग्न सकेको छैन,’ उनले भने, ‘जसले गर्दा तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै नियमित संचालन हुने सानाठूला सवारी साधन, यात्रु र पैदलयात्रीले जहिलेसुकै सास्ती खेप्नु परेको छ ।’
तानसेनको कैलाशनगर, बतासे पर्यटकीय क्षेत्र भएकाले हिमशृंखलाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तानसेनको उच्च भूभाग कैलाशनगर, श्रीनगर र बतासेडाँडा पुग्न भने सडककै कारण सकस छ । श्रीनगरडाँ वनपार्क, तानसेनको विज्ञान सकायको ऐतिहासिक भवन, छात्रावास र हालै निर्माण भएर पत्नि सर्मत सम्हारको पखांईमा रहेको श्रीनगर सांस्कृतिक डवली पुग्न पर्यटकले सास्ती खेप्नु परेको वडाध्यक्ष रावलले बताए । स्थानीय बासिन्दाले शित्तलपाटी, जेभिटी स्कुल, सेन्ट केपितानियो, कैलाशनगर, बतासेडाँडा हुँदै ढुंगाखानीतर्फ जाने सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्नुपर्नेमा ज्ञापनपत्रमा उल्लेख छ ।
कैलाशनगर चौकदेखि श्रीनगर वनपार्क जाने प्रवेश मार्गमा सडकनाली स्तरोन्नति गर्नुपर्ने माग स्थानीयको छ । कैलाशनगर आसपासका क्षेत्रका शाखा सडकहरूको स्तरोन्नति गर्नुपर्ने साथै रानीमहलतर्फ जाने बाटो स्तरोन्नति र सरसफाइ गर्नुपर्ने माग नगरपालिकासँग राखेका छन् ।
चिलाड्दी, मिसन अस्पताल, आँखा अस्पताल, सेन्ट केपितानियो स्कुल, कैलाशनगर हुँदै बतासे जोड्ने मोटरबाटो तत्काल स्तरोन्नतीको मागसमेत गरेका छन् । स्तरोन्नती गर्दा मौजुदा बस्ती नै असुरक्षित हुने खतरा भएकाले वैकल्पिक मार्ग प्रयोग गर्ने विधि अवलम्बन गर्न स्थानीयको माग छ । स्थानीय बासिन्दाले श्रीनगर बनपार्कको सरसफाई, पार्कमा बाल उद्यानको व्यवस्था र पर्यटन आगमत्तबाट प्राप्त शुल्कबापतको रकम प्रत्येक तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । श्रीनगर वनपार्कको सबैभन्दा बढी वनक्षेत्र वडा नम्बर ५ मै पर्ने भएकाले वडावासीसँग समन्वय र सहकार्य गर्न माग गरेका छन् ।
कैलाशनगरको श्रीनगर सांस्कृतिक डबलीको मल्य र आसपासका छानाहरूको मर्मत गर्न ज्ञापनपत्रमा माग गरिएको छ । पर्यटकीय क्षेत्र बतासेडाँडाको वातावरणीय सौन्दर्यका कारण हिमदृश्यावलोकनका लागि पर्यटक आउने भए पनि सरसफाइ र खानेपानीको उचित व्यवस्था हुन नसकेकाले फोहर संकलनको व्यवस्था गर्न माग गरेको छ । नगरप्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दै क्रमबद्ध ढंगले समाधान गर्दै जाने प्रतिबद्धता जनाए ।
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    